फागुन १ सल्यान – दार्मा गाउँपालिका सल्यानको आठौं गाउँ सभा  शुक्रबार सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष निमबहादुर के.सीले गत असारमा सम्पन्न सातौं गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे। आर्थिक वर्ष २०७७/०७८ काे बजेट सन्तुलन गर्ने उद्देश्यले ३९ करोड ९४ लाख ६६ हजार बराबरको अर्ध वार्षिक बजेट संशोधन प्रस्ताव पारित गरिएको छ। साथै उक्त सभाले विभिन्न पाँच ओटा ऐनहरू पनि पारित गरेको छ ।
१.दार्मा गाउँपालिकाको शिक्षा ऐन, २०७७
२.दार्मा गाउँपालिकाको गाउँ प्रहरी ऐन, २०७७
३.दार्मा गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७७
४.दार्मा गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७
५. दार्मा गाउँपालिकाका प्रशासकीय कार्यविधि (नियमित गर्ने ऐन), २०७७ रहेका छन।

गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले प्रस्तुत गर्नु भएको बजेट संशोधन प्रस्ताव पनि सभाले पारित गरेको छ । सभामा उपाध्यक्ष शर्माले राजस्व समीक्षा प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी गाउँपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउन आवश्यक पर्ने गाउँ प्रहरी ऐन बमोजिम गाउँ प्रहरीको दरबन्दी समेत स्वीकृत गरेको छ । यस आर्थिक वर्षका लागि तय गरिएको’रोकौं महामारी, उठाऔं पूर्वाधार : बढाऔं उत्पादन, बनौं स्वरोजगार’ भन्ने नारालाई सार्थक बनाउन गाउँसभाले थप दिशा निर्देशन गरेको अध्यक्ष केसीले बताउनु भयाे ।

साथै उक्त सभाबाट सरकारी सेवामा ३१ वर्ष कार्यरत रहि अवकाश पाउनु भएका सि.अ.हे.व. नवराज शर्मालाई प्रशंसा -पत्र प्रदान गरी सम्मान गरिएको थियाे। सभामा दार्मा गाउँपालिको आर्थिक सहयोगमा हीरालाल केसी र विनोदबाबू केसीले निर्माण गर्नु भएको दार्माकाे मौलिक पहिचान तथा विकास र समुन्नति झल्कने दर्माली घाउटा र उज्यालो दार्मा गीतको भिडियो पनि विमोचन गरिएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार