भदौ १६ सल्यान – शारदा नगरपालिका र नेपाल सरकार बिच बृहत्तर शारदा खानेपानी (१५ वटै वडा भित्र) निर्माणका लागि आज आयोजना संचालन सहभागीतामा सम्झौता भएको छ ।

देशकै वृहत् खानेपानी आयोजना अन्तर्गत रहेको उक्त योजनाले शारदाका सबै वडा भित्रको खानेपानीको समस्याको समाधान गर्ने अपेक्षा गरिएको छ।

विश्व बैंक र ,खानेपानी तथा ढल ब्यबस्थापन विभागको ९२ करोड बजेटमा संचालन हुन लागेको उक्त आयोजनाको अवधि आगामी २०८५ साल सम्म रहने छ ।

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल र प्रदेश जलस्रोत तथा उर्जा बिकाश मन्त्रालयका सचिव देवराज निरौलाको रोहवरमा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी र खानेपानी तथा ढल ब्यबस्थापन विभागका महानिर्देशक रमाकान्त दवाडी बीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रको साक्षिमा खानेपानी तथा ढल ब्यबस्थापन विभागका तर्फ बाट उपमहानिर्देशक माधब प्रशाद अधिकारी र शारदा नगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधार बबालले हस्ताक्षर गरेका हुन।

शारदा नगरपालिकाको नगरप्रमुख भएको आजै सय दिन पुरा भएकाे दिन नगरबासिको यो सय दिनमा धेरै सकारात्मक सेवामा गर्ने प्रयत्न गर्दै आएकाेमा जसमध्ये यो सम्झौता सबै भन्दा महत्वपूर्ण उपलब्धि रहेको र अबकाे चार वर्ष भित्रमा निर्माण कार्य पुरा गरि सबै वडामा खानेपानीको पहुँच पुर्‍याउन नगर प्रमुख भण्डारीले बताए।

नगरपालिकामा योजना पार्न सहयोग गर्ने कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जिवन बहादुर शाही र तत्कालिन जलस्रोत तथा उर्जा विकास मन्त्रालयका नि. सचिब गोपाल शर्मालाई नगर प्रमुख भण्डारीले धन्यवाद ज्ञापन समेत गरेका छन।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार