साउन १५ दाङ – टरिगाउँ एयरपोर्टमा भर्खरै मात्र ल्याइएको विमानमा इन्धन भर्ने बाउजर नेपाल सरकारले अन्यत्र लिने तय गरेपछि विमानस्थल क्षेत्रकाे बाउजर राखेकाे मुख्य गेटमा तालाबन्दी गरिएकाे छ।
आइतबार बाउजर मेसिन काठमाडौं लिने खबर पाएपछि तुलसीपुर उप-महानगरपालिकाकि उपमेयर स्यानी चौधरीको नेतृत्वमा तुलसीपुर-१२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव विनिल केसी सहित अन्य जनप्रतिनिधि लगाएत उद्योग व्यावसायी र स्थानीयहरुले एयरपोर्टको बाउजर ट्याङ्कर र इन्धन ट्याङ्की राखेको गेटमै बाहिरबाट ताला लगाइदिएकाे तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव बिनिल केसीले जनसहारा संग बताए।
तुलसीपुर उद्योग वाणिज्य संघले पनि हवाई इन्धन डिपो कार्यालय दाङ तुलसीपुरका प्रमुख विपिन श्रेष्ठलाई ज्ञान पत्र बुझाएर बाउजर मेसिन फिर्ता लैजाने निर्णयको विरोधमा वाणिज्य संघका पदाधिकारीले प्रमुख श्रेष्ठलाई ज्ञापन पत्र बुझाएकाे संघका महासचिव केसीले बताए।
एयरपोर्ट सुरू भएको दशकौं पछाडि आएको इन्धन भर्ने बाउजर फिर्ता उतै लैजाने निर्णयले एयरपोर्ट फेरि उहीँ पुरानै बिजाेग अवस्थामा फर्किने हाे कि भन्ने आसंका समेत भएपछि ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको महासचिव केसीले बताए।
उडान नियमित गर्न र इन्धनकाे अभावले उडान प्रभावित हुन नदिनका लागि गत जेठ महिनामा उक्त बाउजर टरिगाउँ एयरपोर्टमा ल्याइएको हाे भने उक्त एयरपोर्ट २०११ सालमा स्थापना भएपनि सरकारले चासाे नदिदा अनेक व्यवस्थापन हुन नसकेपछि नियमित संचालन गर्न पटकपटक समस्या देखिने गरेकाे छ।