साउन १४ प्यूठान — स्वर्गद्वारी मन्दिर दर्शनपछि फर्किदै गरेका तिर्थयात्रु सवार जिप दुर्घटना हुदा १ जनाकाे मृत्यु भएको छ भने १४ जना घाइते भएका छन।
मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका-३ की ३२ वर्षीया गुडिया ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका वडा नम्बर -४ भ्यागुते भन्ने ठाउँमा लु ३ च ३५३ नम्बरको बाेलेरो जीप दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।
१७ जना सवार रहेकाेमा १४ जना घाइते भएकाे र घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेकोले घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारपछि एडवन सिटी अस्पताल बुटवल पठाइएकाे र जीपमा सवार सबै रुपन्देहीको मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तीर्थयात्रीहरू रहेकाे प्रहरी नायव उपरीक्षक थापाले बताए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय भिङ्ग्रीकाे टाेलि पुगेर उद्वार गरेकाे घटनाबारे थप विवरण पनि आउन बाँकी रहेकाे प्रहरी नायव उपरीक्षक थापाले बताए।