असार २० सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपदमा अरुकाे समाचार लेख्ने पत्रकारले आफू सुरक्षित हुनुपर्ने र विपदमा त्रासदी फैलाउने र हतोत्साहित नहुने खालको समाचार सम्प्रेषणले संवेदनशील पत्रकारिताको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री शाहीले उक्त धारणा राखेका हुन।
मुख्यमन्त्री शाहीले भने, ‘पत्रकारको लेखाइको मनोविज्ञान सकारात्मक र एकै अर्थ दिने शब्द हुनुपर्दछ, विपदमा त्रासदी फैलाउने र हतोत्साहित नहुने खालको समाचार सम्प्रेषणले संवेदनशील पत्रकारिताको जिम्मेवारी पूरा हुन्छ ।’
आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले विपद् मानव जीवनको अजात शत्रु भएकाले यसबाट बच्न र बचाउन पत्रकारको ठूलो भूमिका रहेको बताए । मन्त्री शाहीले यहाँका १७ लाख नागरिकलाई विपदबाट बचाउन सत्य, तथ्य सूचना र जानकारीको मुख्य जिम्मेवार पत्रकार नै भएको उल्लेख गरेका हुन।
विपदमा केन्द्रित रहेर काम गर्न र यसमा काम गर्ने पत्रकारको क्षमता अभिवृद्धिका लागि दुई दिनको प्रदेशस्तरीय क्षमता अभिवृद्धिको तालिम आयोजना गरिएको र विपद्सँग सम्बन्धित उक्त तालिममा कर्णालीका सात जिल्लाका ३० पत्रकारको सहभागिता रहेको नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिका अध्यक्ष देवीराम देवकोटाले बताए।
तालिमको प्रशिक्षकमा भवानी बराल रहेका छन भने सहजीकरण नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश महासचिव खगेन्द्र भट्टराईले गरेका थिए ।