अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ दुर्गाफाँट कुरुलेमा मंगलबार भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
सन्धिखर्क–घुम्ती–तानसेन सडकखण्ड अन्तर्गत कुरुलेफाँट नजिक सुपादेउराली दर्शन गरेर पर्वत फर्किंदै गरेको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएपछि बस सडकबाट करिब १८० मिटर तल जंगलमा खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक झलक प्रसादशर्माले बताए।
दुर्घटनामा पोखरा–१९ कास्कीकी ७८ वर्षीया रोममाया बस्नेत, पर्वत मोदी गाउँपालिका–५ की अन्दाजी ५० वर्षीया बिन्दु कुँवर, सोही स्थानकी ५० वर्षीया कोशिला रेग्मी तथा बस चालक पर्वत मोदी–५ निवासी ४५ वर्षीय रमेश जिसीको मृत्यु भएको हाे।
प्रहरी निरीक्षक शर्माका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अर्घाखाँची अस्पतालमा उपचारका क्रममा र बस चालक रमेश जिसीको लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका २३ जनामध्ये दिपा पौडेल, विष्णु केसी, देवबहादुर क्षेत्री, सुन्तली कुँवर र उमा पौडेललाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ।