प्यूठानमा तीन वर्षअघि भएको एक वृद्ध महिलाको हत्या प्रकरणमा प्रहरीले महत्वपूर्ण सफलता हासिल गरेको छ। लामो समयदेखि रहस्यमय बनेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मृतककी कान्छी बुहारीलाई पक्राउ गरेको हो।

२०७९ मंसिर १ गते स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्क निवासी ६३ वर्षीया धनीकुमारी सुनार मृत अवस्थामा फेला परेकी थिइन्। प्यारालाइसिसका कारण अशक्त बनेकी धनीकुमारीको शव स्थानीय एक बारीमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भेटिएको थियो। घटनापछि प्रहरीले अनुसन्धान थाले पनि स्पष्ट प्रमाण नखुलेका कारण मुद्दा लामो समयसम्म पेन्डिङमै रहेको थियो।

तर पछिल्लो चरणको अनुसन्धानका क्रममा घटनामा मृतककी सौतेनी कान्छी बुहारीको संलग्नता देखिएको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले बुधबार उनलाई नियन्त्रणमा लिएको हो। अदालतले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न पाँच दिनको म्याद समेत दिएको छ।

प्रहरीका अनुसार धनीकुमारी लामो समयदेखि ओछ्यानमै थलिएकी थिइन् र दिशा–पिसाब समेत ओछ्यानमै गर्ने अवस्था थियो। छुट्टै बसोबास भए पनि उनको हेरचाह बुहारीहरूले गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानमा सासूको हेरचाह, औषधि उपचार तथा दैनिक स्याहारका कारण तनाव बढ्दै जाँदा घटना घटाइएको हुनसक्ने आशंका गरिएको छ।

अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार धनीकुमारीको टाउकोमा बलियो प्रहार गरी हत्या गरिएको र त्यसपछि शव घिसारेर बारीमा फालिएको देखिने केही प्रमाण फेला परिसकेको छ। घटनास्थलसँग सम्बन्धित थप प्रमाण संकलन तथा प्राविधिक विश्लेषणको काम जारी रहेको प्रहरीले जनाएको छ।

तीन वर्षको अवधिमा स्थानीयवासी, माइती पक्षका आफन्त तथा घटनासँग जोडिएका व्यक्तिहरूबाट प्राप्त सूचनाका आधारमा अनुसन्धानलाई पुनः सक्रिय बनाइएको थियो। प्रहरीले “निर्दोष नफसून् र दोषी नउम्कून्” भन्ने सिद्धान्तअनुसार सावधानीपूर्वक अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार