सल्यानमा हाल सम्म करिब ६३ प्रतिशत भूभागमा विद्युत सेवा पुर्णरुपमा पुगेको छ। पूर्ण विद्युतीकरण तथा ग्रामीण सामुदायिक विद्युतीकरण आयोजनामार्फत विभिन्न स्थानमा काम भइरहेका कारण समग्र रूपमा जिल्लाको विद्युतीकरण दर करिब ७३ प्रतिशतभन्दा माथि पुगेको नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले जनाएको छ।

अहिले AIIB Project बाट कालिमाटी क्षेत्रमा तथा अन्य स्थानमा (बनगाड कुपिण्डे नगरपालिका बाहेक) पूर्ण विद्युतीकरण आयोजना सञ्चालनमा रहेको र ती आयोजना सम्पन्न भएपछि जिल्लाको विद्युतीकरण दर ८० प्रतिशतभन्दा माथि पुग्ने अनुमान गरिएको केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए।

जिल्लाको हालसम्मको उच्चतम विद्युत खपत करिब २.५ मेगावाट रहेको छ। जिल्लामा विद्युत आपूर्ति दाङको हापुरे सबस्टेसनबाट १३२/३३ केभी र ३३ केभी तुलसीपुर सबस्टेसन हुँदै सल्यानकाे शितलपाटी सबस्टेसन सम्म आइरहेको छ। अहिले तत्कालकाे अवस्था सम्म आइपुग्दा जिल्लामा आवश्यक विद्युत ऊर्जाको अभाव नरहेको केन्द्र प्रमुख रावलले बताए।

तर भौगोलिक रूपमा बस्तीहरू छरिएका हुनु र फिडर लाइनहरू अत्यधिक लामो भएकाले विद्युत लाइनमा फल्ट देखिने गरेको छ। घना जंगल र ग्रामीण क्षेत्रमा प्राय बासघारीका कारण पनि लाइन अवरुद्ध गर्ने प्रमुख कारण रहेको छ। हाल उपभोक्ताबाट आउने गुनासोमध्ये सबैभन्दा धेरै छिटो लाइन विस्तारसम्बन्धी माग रहेको छ। साथै कुनै उपकरण नचलाउँदा पनि बिल धेरै आएको भन्ने गुनासोमा भने सत्यता नरहेको रावलले बताए। धेरै विद्युत खपत हुने गरि प्रयाेग नगर्दा पनि महशुल धेरै आउने गुनासाेमा सत्य नरहेको रावलले स्पष्ट पारे। यदि धेरै विद्युत खपत हुने गरि प्रयाेग नभए तर बिल धेरै आएको अवस्था प्राविधिक समस्या, ग्राउन्डिङ वा मिटर बिग्रिएको अवस्थामा युनिट बढी देखिन सक्ने भएकाले प्राविधिक परीक्षणपछि समाधान हुने उनको भनाइ छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बिहिवार