पेट्रोलियम पदार्थको मुल्य घटेको छ।
गए राति १ बजे अर्थात शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटाएको हो।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा तीन/तीन रूपैयाँ घटाएको बताएको छ।
निगमकाे नयाँ मुल्य सुची अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ७ पैसा र डिजेलमा ३ रूपैयाँ १६ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको भाउ भने यथावत छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार फरकफरक लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोल प्रतिलिटर १६४ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५४ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोल प्रतिलिटर १६६ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५६ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोल प्रतिलिटर १६७ रूपैयाँ, डिजेल र मट्टीतेल १५७ रूपैयाँ पर्नेछ।