असार ११ सल्यान – बनगाड कुपिण्डे नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि वन तथा भू–संरक्षण र जलाधार संरक्षणलाई प्राथमिकतामा राखि कुल ६९ करोड ९१ लाख बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार नै तयारी गरिएको भए पनि साेहि दिन बिहान नगरसभा सदस्य तथा वडा नम्बर- ९ कि दलित महिला सदस्य सुनिता सार्कीकाे निधन भएपछि शोक प्रस्ताव पारित गर्दै शुक्रबारको नगरसभा स्थगित गरेकाे नगरपालिकाले आज शनिबार नगरसभा गरेकाे हाे।
नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले ११ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख पुरुषोत्तम आचार्यले आर्थिक वर्ष २०७९/०८० को बजेट अनुमानित बजेट ६९ करोड ९१ लाख बजेट प्रस्तुत गरेका हुन।
जसमध्ये चालुतर्फ ४४ करोड ४५ लाख (६३.६ प्रतिशत ) र पुँजीगततर्फ २५ करोड ४६ लाख ( ३६.४ प्रतिशत) बजेट सार्वजनिक गरिएको छ । उक्त बजेट मध्ये आन्तरिक राजस्वबाट १ करोड, नेपाल सरकार वित्तीय समानीकरण अनुदान अन्तर्गत १२ करोड ६४ लाख, विशेष अनुदान बाट ७० लाख, समपूरक अनुदान बापत १ करोड र सशर्त अनुदानबाट २७ करोड १३ लाख तथा राजस्व बाँडफाँटबाट १२ करोड ६४ लाख प्रक्षेपण गरिएको छ ।
कर्णाली प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट १ करोड ३० लाख, राजश्व बाँडफाँटबाट २९ लाख, समपूरक अनुदान १ करोड विशेष अनुदान ७० लाख र सशर्त अनुदान २ करोड ५७ लाख बेहोर्ने र चालु आर्थिक वर्षको खर्च हुन नसकेर बाँकी रहेको ९ करोड बचत रकम रहेको छ । विनियोजित बजेट मध्ये सडक पूर्वाधारका क्षेत्रमा १ करोड ५० लाख, साना सिँचाई आयोजनाका लागि ५० लाख, कृषि क्षेत्रका लागि ७० लाख, सार्वजनिक सेवामा लागि वडा कार्यालय निर्माण ८० लाख बजेटको व्यवस्थापन गरिएको छ । नगरपालिकाकाे चमेना गृह निर्माणका लागि २० लाख बजेटको विनियोजन गरिएको छ ।
विपद् व्यवस्थापनका लागि १५ लाख बजेट विनियोजन गरिएको छ। पर्यटन प्रवर्द्धनका लागि १ करोड, वन तथा भू–संरक्षण र जलाधार संरक्षणका लागि १ करोड ६५ लाख, बनगाड खोला र सङ्ग्रही खोलाको तटबन्धका लागि ४० लाख, संस्थागत विकास सुशासन तथा सेवा प्रवाहमा १२ करोड ११ लाख बजेट विनियोजन गरिएको छ ।