महामहिम राष्ट्रपति महोदय,
जब सम्बोधन गर्ने बेला मात्रै
महिला हिंसा देखिन्छ।
सम्बोधन गर्ने बेला मात्रै,
बलात्कार बिरुद्ध आवाज आउछ।
हाम्रा गला त अबरुद्ध भैसके!
तपाईंहरुसंग कानून कार्वान्वयनको
भिख माग्दा माग्दै ।
हाम्रा गला धोद्रो लागेका बुढा
रुखका ढोंड जस्ता भैसके
छोरीको पिडामा रुंदा रुंदा।
संघर्षका गाथा गाउँदा
मुक्तिका कति भाषण ठोक्यौ
भाषण त भाषण नै बनिरहे
मुक्ति त उपल्लो ओहदाका
लागि पो भयो।
हामीलाई त न्याय पनि
अभिशाप भयो
चोंचेले सौर देख्नु
हाम्रा छोरीले न्याय पाउनु
एकै जस्तो पो भयो।
गाली सुन्दा सुन्दा कानका
जाली च्यातिन लागिसके
छोरीको बीभत्स च्यातिएको यौनाङ्ग
हेर्दा हेर्दा आँखा पाकी सके।
हाम्रो चीत्कार तपाईं सम्म पुगेन।
पुगेन,पुर्याइएन,पुगेर पनि सुनियन
सुनेर पनि नसुने जस्तै बनाइयो
एकैपल्ट मात्र एकैपल्ट मर्जी होस् न।
आमा,तपाईं पनि त आमा
सृजना त तपाईंको पनि छ नि
महान् त तपाईं पनि हो नि
खै किन छोएन कुन्नी
ती नाबालिकाको रोदनले ?
हाम्रा आवाजका ज्वाला
किन निभाईन्छ पटक पटक ?
बलात्कारीले यौनाङ्ग ब्लेडले चिर्छ
मुखमा ठेंडी लाईदिन्छ
हातखुट्टा थिचिदिन्छ
नाबालक छोरीको बीभत्स
रुप हेर्न कुन बाउको सामर्थ्य छ ?
कुन आमाको मुटुले स्विकार्न सक्छ ?
प्लाष्टिकमा बेरिएकी छोरीको लास
लियर न्याय माग्न गएको बाउलाई
बुट बजारिन्छ,लाठी तेर्स्याईन्छ
मेरी छोरीको अबोध आँखाले
न्यायको याचना गरेको छ
यो याचनाको फिरादपत्र
एकपल्ट पढिबक्योस् न महामहिम।
कमरेडसंग गुहार लगाएं
दाईहरुसंग गुहार लगाएं
सबै पार्टीका अगुवासंग गुहार मागें
आश्वासनका पोटली बाँधेर पठाइदिए
अपराधी त उहाँहरुकै चाहिने मान्छे पो अरे।
महामहिम,हाम्रा बिन्तिपत्र
सुन्ने हेर्ने निकाय कता छ ?
बताईदिबक्स्योस न।
हाम्रा लागि न्यायअन्याय
छुट्याइदिने अदालत कता छ ?
न्यायाधीश कता छन् ?
हामी त भुंई मान्छे
सिंहदरवारमा छिर्न टोकन पनि पाइन्न
अब कता जाम् ?
हामीसंग अब छोरीहरुको
मृत्युको फिरादपत्र छ
भौंतारीरहेका छौं
कि त अपराधीलाई कारवाहि होस्
कि त छोरी मार्ने लाइसेन्स मिलोस्
महामहिम राष्ट्रपति आमा
एक पल्ट आँखा उघारश्रबक्स्योस न।