पुस १९ धनकुटा – सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी भएका तिनजना नक्कली परीक्षार्थी धनकुटा बहुमुखी क्याम्पसबाट पक्राउ परेका छन।

धनकुटा बहुमुखी क्याम्पसमा सञ्चालन भएको सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा परीक्षार्थीहरुको प्रवेश पत्र चेकजाँच गर्ने क्रममा धनकुटा सहिदभुमी गाउँपालिका-५ का २८ वर्षीय सौहार्द राई, उदयपुर बेलका नगरपालिका-७ का २२ बर्षीय योगेन्द्र राई र सोही स्थानका ३२ बर्षीय निशान राई पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

पौष १७ गते सञ्चालित परीक्षामा प्रवेश पत्र चेक जाँच गर्ने क्रममा योगेन्द्र राईको १२४२० दर्ता नम्बर भएको प्रवेश पत्रबाट सौहार्द राई नक्कली परीक्षार्थी बनि परीक्षा हलमा प्रवेश गर्न लाग्दा पक्राउ गरिएको हो । उक्त परीक्षा हलमा प्रवेशको लागी सहयोग गर्दै गरेको अवस्थामा निशान राईलाई आइतबार पक्राउ गरि नक्कली परीक्षार्थी सौहार्द, आफ्नो परीक्षा अर्कोलाई दिन लगाउने योगेन्द्र र सहयोगी निशान तीनै जनालाई अदालतबाट म्याद थपगरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नकुल पाेखरेलले बताए।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार