पुस १ झापा – नक्कली पिसिआर रिपोर्ट बनाएको अभियाेगमा एक ट्राभल कम्पनीका संचालक पक्राउ परेका छन।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-६ स्थित रिङ्जी टुर्स एण्ड ट्राभल्सका संचालक पेमा तामाङ रहेका छन । उक्त टुर्स एण्ड ट्राभल्समा नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेकाे हाे। उक्त टुर्स एण्ड ट्राभल्सको कार्यालयमा रहेको २ थान ल्यापटप र १ थान प्रिन्टर बरामद गरेको छ ।
अनुसन्धानको क्रममा उक्त ल्यापटपमा मेची अञ्चल अस्पताल, बिएण्डसी मेडिकल कलेज टिचिङ अस्पताल, नेशनल पब्लिक हेल्थ ल्याबोरेटरि काठमाडौंको अफिसियल प्याडहरूलाई डिजिटल स्क्यान गरी इडिट गरेर नाम खाली राखी पिसिआर नेगेटिभ भएको रिपोर्टहरू सेभ गरि राखेको, नेपालको निशाना छाप एवं विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूको छापहरूलाई डिजिटल स्क्यान गरेको तथा विभिन्न सरकारी कर्मचारी, डाक्टर र व्यक्तिहरूको दस्तखतलाई डिजिटल स्क्यान गरी इडिट गरेर सेभ गरी राखेको फेला परेको छ ।
थप अनुसन्धानको क्रममा आएको मेची अञ्चल अस्पतालको १ थान पिसिआर रिपोर्ट पनि बरामद भएकाे छ। उक्त अस्पतालबाट तयार नभई किर्ते गरेको खुल्न आएको छ । थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनकाे म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।