मंसिर २० काठमाडौ – धम्की दिदै आफुलाई याे क्षेत्रकाे दादा भन्दै पटकपटक लाखौ रकम असुल्ने २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका ७ गंगाहिटि घर भई हाल सुकेधारा बस्ने मिलन जोशी र दाेलखा भिमेश्वर नगरपालिका ५ घर भई काठमाडौ महानगरपालिका ४ बालुवाटार बस्ने ३५ वर्षिय रवीन्द्र बस्नेत छन्। उनीहरूलाई आइतबार दिउसाे २ बजे मित्रपार्कबाट पक्राउ गरिएकाे महानगरिय अपराध महाशाखाले बताएको छ।
उनीहरूले पानीपोखरीमा रहेको युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकलाई यस क्षेत्रको दादा हौं भन्दै विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तिमा प्रतिव्यक्ति २५ हजारका दरले कमिशन दिनुपर्ने भन्दै धम्क्याएको तथा हातपात समेत गरि कमिशन नदिए मेनपावर चलाउन नदिने भन्दै गत १६ गते भन्दै मेनपावर कम्पनीका सञ्चालक, सञ्चालकको श्रीमती र कर्मचारीहरू समेतलाई ज्यान मार्ने धम्की दिएकाे उजुरी महाशाखामा दर्ता भएपछि प्रहरीले उनीहरूलाई खाेजि गरिरहेका थियाे।
उक्त गिराेहले हालसम्म ९० लाख २५ हजार रुपैयाँ लिएको प्रमाण पनि रहेकाे छ। हाल लकडाउनको कारण मेनपावर चल्न नसकेको अवस्थामा पनि उनीहरूले कमिशन तथा दशैँ खर्च समेतको एकमुष्ट रकम सञ्चालक सँग माग गरी पटक पटक धम्की दिदै आएको र उक्त गिरोहले अन्य मेनपावर व्यवसायीहरूसँग समेत रकम असुल गरेको अनुमान छ। पक्राउ परेकाहरू माथि थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले बताएको छ।