जति विशाल दरबार
बनाउँछ मान्छे
उतिनै ठूलो आँसु र पसिनाको
बलिदान माग्छ युग
उतिनै चुलिन्छ पापको थुम्को
आखिर किन ?

आदिम गुफा भन्दा फरक घर
कसले बनायो खोई ?

यसोधराको जवानीको
बलिदानमा
बुद्धको शान्तिदीप जलेको
कसकसले देख्यो ?

विश्वसभ्यता
आँसु रगत पसिना र
त्यागमय बलिदानको ऋणी छ।

मान्छे !!
जति ठूलो हिंसा मच्चाउछ
उतिनै ठूलो
विजयोल्लास मनाइरहेको छ।

रगतको धारामा अनुहार पखालेर
नकाबधारी
अहिंसाको मन्त्र पढाउछ आज ?

फूलको गुमनाम चिहानमा
कस्ले लेख्यो होला
युगान्तकारी क्रान्तिको महान् कथा ?

कस्ले रच्यो होला
जिउँदो मान्छे हिंड्ने
सडकभरि
असरल्ल पोखिएको
आलो रगतको मसीले
घायल युगको
पिलिएको छातीमा
अर्को दु:खान्त कविता ।

विचारको महान् मन्थनमा
बन्दुकको फैसला
के न्यायसंगत ठहर्छ ?

फूलहरुको अहिंसात्मक युद्धमा
काँडाहरुको बलिदान
कसैले कल्पना गर्नसक्छ ?
श्रष्टा झापा दमकका हुन।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार