जीन्दगीको किताब फुकाएर पाना पल्टाउंदै थिएं
हरेक पेज बेदनाका बृतान्तले पो भरिएका रहेछन्
धेरै दुखका जंघार तरेछु,पिडाका कुटुरा छरपष्टै पारेछु
सुख र खुशिका ती दुईचार पोटली जतनले राखेकी रहेछु।
ती खुशीका उकाली ओरालीहरु,संघर्षका शिखरहरु
कति चढें कति ओर्लें आज हिसाब किताब गर्दैछु।
हिसाब मिल्दै मिलेन न त जोडघटाउ नै मिल्छ
न त गुणनभाग नै मिल्छ यता थिच्यो उता थिच्यो
अहँ हिसाबै मिल्दैन,मैले दुख कम डाउनलोड गरेछु
उसले सुख र खुशि थोरै डाउनलोड गरेछ बेमान क्याल्कुलेटर।
मैले जीउन जानिन या जीवन बुझिन अझ प्रष्ट छैन म
आफन्तहरुको खुशीमा रमाइदिएछु आफ्नो खुशि बिर्सेर,आफन्तको बन्दोबस्तीमा लागेछु आफु रित्तिएर अर्को पाना पल्टाएर हेरें ओहो! आफन्त टाढियछन् थाहै पाईन ,बेमान जीन्दगी।
जीन्दगी भरिपूर्ण पारें भनेर मक्ख पर्दै समयसंग बयली खेल्न भरखरै शुरुवात गर्दै थिएं बार लाउन आफन्तै पुगेछन,खुशीका दुईचार कण प्रवेश के गरेका थिए बिचरा जालझेलमा उत्रिन थालेछन्।धन्न आफन्त।
दुखका आँधी तुफानले त मलाई टसको मस पार्न सकेन तिम्रा अपहेलनाका जाबो दुई शब्दले मेरो छाती चिरियला र ? अझै पनि हिसाब त गर्छु जीन्दगीका केही पानालाई रातो टालोले बाँधेर मनको दराजभित्र थन्क्याइदिन्छु।
आफन्तका अपहेलनाका तीच्छ्ण वाक्य आज प्रसाद लाग्छन्।
आफन्तका मुटु प्वाल पार्ने ती शब्द आज स्वर्णिम आशिरवाद लाग्छन्।
संघर्ष मेरो दाहिने हात हो जसको अभावमा बांच्ने ईच्छा राख्नै सक्दिन
आफन्तका कटुवचन मेरो मार्गदर्शक हो जसको बिना म म नै होईन।
हिसाब मिलाउन नसकेको चरणहरु अब फेरि खातामै थन्किने भए म बाटो हेर्दै छु कहाँबाट जीवनकथा लेखुं ?