कात्तिक २ माेरङ – गत असाेज २५ गते धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा भारत फारवेसगञ्ज-१० बस्ने २० वर्षीय रोशन यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । साथै सोही घटनामा संलग्न अन्य ३ जनालाई सोही दिन साँझ प्रहरीले पक्राउ गरेको थियो ।

उक्त बैंकबाट नगद लुटपाट गरेको घटनामा संलग्न रही फरार रहेका राेशनलाई सुनवर्षी नगरपालिका-८ सिक्टी नेपाल चोक नजिकबाट प्रहरीले पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न रही गत असोज २५ गते पक्राउ परेकामध्ये श्याम मुखियाको कोठाबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र ५ सय ग्राम अवैध लागूऔषध गाँजा समेत प्रहरीले बरामद गरेको छ ।
साथै बिराटनगर महानगरपालिका-७ स्थित सेन्ट्रल मल अगाडि रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका संचालकलाई हातहतियार देखाई नगद १२ हजार रुपैयाँ लुटपाट गरेको घटनामा समेत सोही समूहका सदस्यहरुको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको उक्त माेरङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार