✍️-१
मनैले किन नहाेस् सगरमाथा चढ्नु तिमी
ब्यक्तित्वमा पनि सगरमाथा झैं बढ्नु तिमी
युद्धमा पनि सँधै सुस्थिर मेराे सगरमाथा
राष्ट्रियतामा सगरमाथा जस्तै अड्नु तिमी
✍️-२
सगरमाथाकाे प्रतिबिम्ब शिरकाे टाेपी मेराे
असंभव नै छ धूमिल पार्न छवि छाेपी मेराे
वैभवकाे अहंकारी रत्नजडित दर्वार भन्दा
स्वर्गीय आनन्ददायी हिमाली खाेपी मेराे
✍️-३
देख्नासाथ आँखा तर्न थालिन निष्ठुरीले
मूल~द्वारमा नै तगाराे हालिन निष्ठुरीले
तिम्राे लागि दिलकाे दैलाे खुला छ भन्थिन्
ढाेकैमा झन कुकुर पाे पालिन निष्ठुरीले ।
✍️-४
कालजयी उपलब्धि निर्भर आँटैमा हाे
जिजीविषाका बिस्कुन सुकाउने फाँटैमा हाे
सामना गर्दागर्दै किनारामा पुग्छ जिन्दगी
जीवनकाे अन्तिम सत्य पुगिने त घाटैमा हाे
✍️-५
म सालिन भेषमा छु तिमी नङ्ग्याउन खाेज्छाै
म साेझाे कुरा गर्छु तिमी बङ्ग्याउन खाेज्छाै
घाट ~घाटकाे पानी पिएर रङ्गिएका ~ तिमी
दुनियाँलाई नै आफ्नै रङ्गमा रङ्ग्याउन खाेज्छाै
-गणेश लाेहनी चितवन(हाल पाेल्याण्ड)