श्रावण २२ काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेकोले तत्कालका लागि कक्षा १२ सहित सबै तहका परीक्षा तत्काल स्थगित गर्न सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थापन केन्द्र) र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।
स्वास्थ्य मन्त्रालयले विज्ञहरुसँगको छलफलपछि परीक्षा सञ्चालन गर्न उपयुक्त नहुने जनाएको छ। मृत्युदर १.५ र संक्रमितको दर पनि बढिरहेकाले परीक्षा नगर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको हाे। प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबीच छलफलसमेत भएको थियो । प्रधानमन्त्री देउवाले पनि अवस्था सामान्य भएपछि २० वर्षमुनिका किशोरकिशोरीलाई खोप पाएपछि मात्रै परीक्षा सञ्चालन गर्ने उचित हुने बताए छन।
कक्षा १२ को परीक्षा साउन ३१ देखि सञ्चालन गर्न परीक्षा तालिका सार्वजनिक भइसकेको छ । अब परीक्षा संचालन गर्ने कि स्थगित गर्ने भन्ने निर्णय परीक्षा बाेर्डले गर्ने छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पनि सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी गराएका छन। कोरोना बढिरहेकाले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको श्रेष्ठले लेखेका छन् ।