प्रिय
मिठो सम्झनाका साथ तिम्रो सुस्वास्थ्यको कामना गर्दछु। तिमीसँग भेट नभएको पनि महिनौं भएछन्। फेसबुककाे म्यासेन्जरका च्याटले मात्रै मायाको अस्तित्व नबोक्दो रहेछ। आँखा अगाडि एक झल्को देख्न नपाउँदा मन बेसरी छट्पटिने रहेछ। तिमी जिम्मेवार ठाउँमा छौ। म मात्र र तिम्रो परिवारको मात्रै जिम्मेवारी पूरा गरेर नहुने ठाउँमा भएका कारण पनि होला अचेल बातचित पनि पातलिएका छन् तर पनि देश, काल र परिस्थिति अनुसार सहज मान्नैपर्छ मानेकै पनि छु।

प्रिय,
आज हाम्रो देश मात्रै हैन विश्वका शक्तिशाली देशहरु पनि एउटा भाईरसका कारण रोई रहेछन्। चाइना रोयो, इटली रोयो, अमेरिका रोयो, भारत रोई रहेछ। यस सँगसँगै हामी पनि रोई रहेछौं। जबजब विश्वका समाचार सुन्छु हेर्छु तबतब लाग्छ अब यस जन्ममा हाम्रो भेट हुँदैन। मृत्यु शाश्वत हो स्वीकारौंला तर आफूले आफ्नो मृत्यु स्वीकार्न भन्दा गाह्रो त जीवनका लागि उपचार नपाएर जीवन र मृत्युसँग लड्दै गरेका मानिसहरु देखेर पाे हुँदो रहेछ।
जनता प्रति उत्तरदायी सक्रिय सरकार भएका देशले त आफ्नो देशका नागरिक सुरक्षित रहुन् भनेर अन्तर्राष्ट्रिय उडान बन्द गरे। देशमा भएका कामदारहरु, मजदुरहरुलाई सामुदायिक केन्द्रहरू बाट भत्ता तथा अन्य सहयोग उपलब्ध गराउँदै भोकै मर्न नपर्ने गरि राज्यले सहयोग गरिरहे गरिरहेका छन्। सरकार बाहेक संघसंस्था, व्यक्तिहरुले पनि सहयोग गरिरहेका छन्। हुन त यहाँ पनि कैयौं, संघसंस्था, युवाहरु खटेका छन् सहयोग गरिरहेका छन् तर राज्यबाट जनताप्रति जति उत्तरदायित्व निर्वाह हुनुपर्थ्यो त्यो भएन र भएको छैन। प्रिय भन्दा अत्युक्ति हाेला त्यसको जिम्मेवार एक नम्बरमा तिमी हौ किनकि नीति निर्माण गर्ने ठाउँमा तिमीले नेतृत्व गरिरहेका छौ। यस मानेमा तिमी जिम्मेवार हुनुपर्छ कि पर्दैन?

प्रिय ,

देशको खुला सिमाना, हाम्रो गरीबी, राष्ट्रको गैरजिम्मेवारीपनले सीमा नाका बन्द गर्न नसक्दा पनि कोभिड महामारीले अझ उग्र रुप लियो। सबै कुरा गर्न सक्दैनौ तर रोकथामको लागि खट्न त सक्थ्याै नि।
हिजो गाउँकै एउटा जनप्रतिनिधिले अस्पतालमा बेड र उपचार नपाएर ज्यान गुमाए। यसले सहजै अनुमान लगाउन सकिन्छ कि तिमी बसेको नेतृत्व पंक्तिमा कति दुरदर्शिता भएका मान्छे रहेछन्। जनप्रतिनिधिले त उपचार नपाएर मर्छ भने हामी जस्ता सर्वसाधारणले उपचारको के आशा के गर्नु? दैवले मृत्यु नै दिन खोजेको हो भने अब सहज मृत्यु देओस् भनेर प्रार्थना गर्नु सिवाय हामी उपाय नास्ति भएका छौं।

प्रिय,
तिमीले नेतृत्व गर्न थालेदेखि राम्रा काम गरेकै छैनौ म भन्दिन। गरेका छौ। सायद अहिले जस्तो विषम परिस्थितिको सामना गरेका थिएनौ होला। फेरि “भुकम्पले तहसनहस पार्दा गरेको थिएँ भनेर भनाैला। गर्‍याै राम्रो भयो तर यो अवस्था फरक हो नि। यो महामारी एक वर्ष अगाडिदेखि मच्चिएको महामारी थियो। विश्व जगत मुख्य प्राथमिकताका साथ यो महामारीको विरुद्धको भ्याक्सिन बनाउन पहिलो अनवरत लागिरहेको थियो तर तिम्रो नेतृत्वले के गर्‍याे? प्रिय के गर्‍याे?
आवश्यकता अनुसार अस्पताल बनाउन र आवश्यक परेको बेला सुचारु गर्ने गरि व्यवस्थापन गर्न समेत सकेन।यहि हैन सत्य? देशमा नागरिकको सुरक्षा भन्दा आफ्नो कुर्सी पकड बलियो बनाउन कटिबद्ध भएर लागेको तिम्रो नेतृत्व देख्दा तिमीले आफना नागरिकलाई कुन मनले कस्तो मुटुले माया गरेका रहेछौ? मलाई छुट्याउनै गाह्रो भयो। तिम्रो नेतृत्वले कसलाई देखाउन र केका लागि त्यत्रो भीड जम्मा गरेको थियो? जसका कारण आज कोरोना भयावह बनेर आयो? मैले त अझ सुन्दै छु तिम्रा प्रधानमन्त्रीले जनताले अटेरी गरेर कोरोना बढ्यो भनेर भने रे!

प्रिय,

एकपल्ट तिम्रा प्रधानमन्त्रीलाई “आफ्नो देश दौडाहा हुँदासम्म केही नहुने, आफै भीड जम्मा पार्दै हिँड्ने अनि आज जनतालाई दोषारोपण गरेर उम्कन खोज्ने? तपाईंलाई यस्तो भन्न लाज लाग्छ कि नाई?” भनेर हाम्रो तर्फबाट साेधी देउ न!
प्रिय,
एम्बुलेन्स नपाएर ट्याक्टरमा लोड गरेर स्वास्थ्य चौकी लैजाँदै गर्दा हाम्रा गाउँले बिरामी काका बाटैमा मरे तर तिम्रा गृहमन्त्री भने हेलिकप्टर चार्टर गरेर चुनावका लागि नाम मनोनयन दर्ता गराउन हेटौंडा पुगे। सहकर्मी साथीले हदैसम्मको सीमा नाघेर औसत दर्जाको गल्ती गर्‍याे भनेर तिमीलाई लज्जावाेध भएन हगि?

प्रिय,
गुनासा धेरै छन्। कति सुनाउँ? परिस्थिति नबुझ्ने तिमी छैनौ। फुर्सद नहोला तर पनि एक पल्ट मेरो चिठी पढेर ठण्डा दिमागले साेंच्नु। हरेक प्रेमिका आफ्नो प्रेमी संसारको सबैभन्दा सुन्दर मनको होस् भन्ने चाहन्छे। म पनि तिमीलाई त्यस्तै सुन्दर मनको असल व्यक्ति भएको देख्न चाहन्छु। म तिमीलाई त्यस्ताे नायक भएको देख्न चाहन्छु जो दुनियाँको मनमा बस्न सफल होस्। आज भारतमा हेर त जनता मोदी सरकारको हाेईन कि सोनु सुदको लागि जयजयकार गर्दैछन्। उनी पनि त तिमी जस्तै मान्छे हुन्। उनले पीडित र व्यथितका लागि खाद्यान्न उपलब्ध गराएका छन्। बिच बाटोमा वा आपतले अल्झेर बिचल्लीमा परेका यात्रुहरुलाई प्लेन चार्टर गरेर गन्तव्यमा पुर्‍याएका छन्। अक्सिजन कसरी? जसरी तसरी व्यवस्थापन गरेका छन्। हुँदाहुँदा त लास जलाउने दाउरा र ठाउँ समेत उनैले व्यवस्था गरेका छन्। उनलाई मिडियाले कसरी खर्च व्यवस्थापन गर्नुभएको छ? भनेर साेध्छन् तर उनी जवाफ दिन चाहान्नन्। किन थाहा छ प्रिय? किनकि उनले यो काम सस्तो लाेकप्रियताका लागि गरिरहेका छैन् उनले त केबल मानवीय कर्तव्य निर्वाह गरिरहेका छन्। उनी भन्छन् “मैले केबल आर्तहरुको चहर्‍याएको घाउमा मलम लगाउन सकुँ अरु त हुँदै गर्छ”।वास्तवमा साेनु सुदले करोडौं ऋण बोकिसकेको सुन्नमा आएको छ तर पनि उनले हरेस खाएका छैनन् किनकि उनको सहयोगी मनलाई कसैले अवरोध पुर्‍याउनै सक्दैन।हो प्रिय आज म पनि तिमीमा उनै सोनु सुदलाई देख्न चाहान्छु। के तिमी मेरा लागि सोनु सुद बन्न तयार छौ??

प्रिय,
जीवनमा मैले तिमीसँग भौतिक सुख सुबिधाका सामान मात्र लिएँ। खाली मेरा लागि मात्रै खुशि मागें। म गलत रहेछु। म खुशी भएर संसार खुशी नहुँदो रहेछ। आज मैले तिमीसँग माग्ने एउटै कुरा छ। यदि मेरो खुशी चाहन्छौ र दिन्छौ भने मेरो झाेलीमा कोभिडले आक्रान्त भएकालाई दिन सक्ने मलम देउ जुन मलमले आर्तहरुको चहर्‍याएको घाउ निको होस्।
प्रिय तिमी जनताको आशाको केन्द्र बिन्दु हौ। आर्तहरुकाे आशा मर्न नदेउ। उठाउ ती ढलेका मानव आशाका त्यान्द्राहरुलाई।

उही तिमीलाई माया गर्ने मान्छे

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार