बैशाख १७ काठमाडौ – नेपाल सरकारका पुर्व सचिव भीम  उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्ला पत्र लेखेका छन।

उपाध्यायले सामाजिक संजाल फेसबुक मार्फत पत्रमा साईबर कानुन र सामाजिक संजाल तथा मिडियाहरुमा अनेक धरपकडकाे निन्दा गर्दै प्रमाण र उदाहरणकाे लागि भारतकाे सर्बोच्च अदालतले त्यहाँको आईटी ऐनको दफा ६६ ए खारेज गरेकाे पनि स्मरण गराएका छन।

त्यस्तै सामाजिक संजाल तथा मिडियामा गाली बेईज्जति, मानहानी, चरित्र हत्याका कसुरका लागि अन्य कानुनहरू नै सान्दर्भिक भएको हुदा यदि कानुन विपरीतका क्रियाकलापहरु माथि कानुन लागू गरिदा ती समावेश भएका सामाग्री प्रमाणका रूपमा प्रस्तुत गरेर क्षतिपूर्ति लिन दिन दिलाउन सकिन्छ भन्दै साइबर ऐनको दफा ४७(१)खारेज गर्ने अध्यादेश तुरून्तै ल्याएर लोकतन्त्रको सम्मान गर्न पनि आग्रह गरेका छन। नत्र मुलुककाे शासन व्यवस्था नै सकिन सक्ने पत्रमा उल्लेख गरिएको छ।

उनकाे पत्र साभार;

प्रम ओलीलाई मेरो खुला पत्र:
सम्माननीय प्रम ओली ज्यू,
वाक तथा अभिब्यक्ति स्वतन्त्रताको संवैधानिक सुनिश्चिततालाई कुनै पनि कानुनबाट बन्देज लगाउन सकिदैन। सोसल मिडियामा लेख्नु साईबर क्राईम हुनै सक्दैन, यो कुरा पोहर साल भारतको सर्बोच्च अदालतले त्यहॉको आईटी ऐनको दफा ६६ए खारेज गरेर पनि सिद्ध गरिदिएको छ।
नेपालका डेढ करोड जनता हाल सोसल मिडिया प्रयोगकर्ता छन्। रिसईबि सॉध्नेहरू साईबर कानुनलाई हतियार बनाएर पुलिस र सरकारी वकिललाई राजनैतिक वा शक्तिको दबाब दिदै, दुरूपयोग गर्दै मुलुक मुद्दैमु्द्दाको बदनाम मुलुक बन्दै जाँदैछ। सारा पुलिस, सरकारी वकिल, निजी कानुन ब्यावसायी, अदालतहरू हजारौं हजार साईबर मुद्दाको दलदलमा फस्दै जाने, वर्षेनी करोडौं श्रोत अनाहकमा खोलामा बग्ने, पुलिस कस्टडीहरू आरोपितहरूबाट खचाखच भरिदै जाने र यसकै बोझमा थिचिदै सास निस्सासिएर मुलुक मर्दै जाने डरलाग्दो छॉट देखिएको छ। यस्तो अवस्था देखिनु मूर्ख शासन-प्रशासन विद्यमान भएको प्रमाणित हुने लक्षण हो । मुलुकको एकमात्र काम सोसल मिडियाको गुहेपोखरीमा पौडी खेल्ने मात्र हुन पुग्दैछ।

लोकतन्त्रमा सोसल मिडिया सशक्त अभिब्यक्तिको माध्यम हो। भारतले जस्तै नेपालमा पनि साईबर ऐनको दफा ४७(१)खारेज गर्ने अध्यादेश तुरून्तै ल्याएर लोकतन्त्रको सम्मान गरिहाल्नुहोला। नभए डेढ करोड जनताको ढुकढुकी तथा सास बनिसकेको सोसल मिडिया यस्तै बिकृतिका कारण रोकिएर मुलुकको विद्यमान राजनीति र शासन ब्यवस्था अनाहकमा चट् हुन बेर छैन। यहॉ जो कोही हिरासतमा कोचिने र मुद्दाको गन्हाउने ढलमा डुबुल्की मार्दै जुग बिताउन बाध्य हुनुपर्ने छ। कहिले सासूको पालो त कहिले बुहारीको, यस्तो माखेे सॉग्लोबाट अहिले अरूलाई पनि जोगाऔं र पछि आफू पनि जोगिऔं।
गाली बेईज्जति, मानहानी, चरित्र हत्याका कसुरका लागि अन्य कानुनहरू विद्यमान छन्। यस्तोमा सोसल मिडियाको पोष्टहरू ती कानुन लागू गरिदा प्रमाणका रूपमा प्रस्तुत गरेर क्षतिपूर्ति लिन दिन दिलाउन सकिन्छ नै। अप्रासांगिक कानुन समातेर अवैधानिक बाटो कसैले समात्नु हुदैन। यसमा अबिलम्ब बिचार हुने अपेक्षा गरेको छु।अनि हामी मूर्खहरूको राज बन्नबाट जोगिने छौं।

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार