युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो जन्मभूमि झल्काउने गीत ‘मेरो प्यारो ओखलढुंगा’ रचे। शुरुमा नारायण गोपालले गाएको यस गीतलाई पछि रामेशले पनि गाए। लामो भए पनि कर्णपृय यो गीत धेरैले रुचाउँदैआएका छन्। यसरी आफ्नो जन्मभूमि झल्काउने गीत अरु कसैले रचेहोलान् तर रेकर्डिङ भएर बजारमा वा युट्युबमा आएको पाइँदैन। हाल चर्चामा रहेका एक रोल्पाली स्रष्टा हुन्- अमर अधिकारी। उनले ख्यालख्यालमै फेसबुकमा एउटा गीत रचेर पोस्ट गरे। उक्त गीत आफ्नो जन्मभूमि झल्काउने भएकोले नाताले भाइ पर्ने छविलाल खत्री र विष्णु थापाले त्यस गीतमा शब्दहरु थपथाप गरेर रेकर्डिङ गराए। गीतले रोल्पाका अधिकांश स्थल र प्यूठानका केही स्थलहरुको चित्रण गरेको छ। १४ मिनेट ४६ सेकेन्डको उक्त गीतमा गायिका संगीता पौडेल र गायक गोविन्द वलीले मीठो स्वर दिएका छन्।
संगीत पनि ज्यादै आकर्षक र मिलेको पनि छ। सञ्जय श्रीपालको ब्यवस्थापनमा मेघराज थापाले निर्माण गरेको उक्त गीतको रेकर्डिङ चन्द्र म्यूजिक प्रा.लि.को तर्फबाट भुपेन्द्र सुनारले गरेका हुन्। उक्त गीत रोल्पालगायत अन्य जिल्लाका पर्व तथा मेलाहरुमा पनि स्थान पाउँदैआएको छ भने रेडियो नेपाललगायतले गीत बजाउँदैआएका छन्। उक्त गीत सबैभन्दा बढी बजाउनेमा रोल्पाको रेडियो होलेरी अग्रपंक्तिमा आउँछ। रोल्पा आउने जाने गाडीहरुमा पनि उक्त गीत बज्नेगरेको छ।
गीतकार अधिकारीले आफू जन्मेको खुंग्रीमा रहेका गाउँ तथा टोलको भरपुर वर्णन गरेका छन्। रोल्पा जिल्लाको खुंग्रीमा पर्ने हरिगाउँ, मैरी, खुंग्रीकोट, झोरा, माझिगाउँ, धनचौर, सेरा, पावाङ, देउखुरी, कुटिधारा, रेला, यारी, टाकुरा, गोगनपानी, हिले समेटिएका छन् भने मिझिङमा पर्ने जिलाखोला, कोइरालखर्क, वाहेखोला, छिर्ने र सुलिचौर समेटिएका छन्। त्यस्तै प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिकामा पर्ने पानीचारेखोला, डाँफेधारा, डाँडागाउँ समेटिएका छन्। गीतमा लुंग्रीनदिलाई पनि छुटाइएको छैन। गीतमा धेरै दोहोरिने शब्दहरु हुन्- ‘छिर्ने हुँदै सुलिचौर जाम्ला, चोखो माया पिरती लगाम्ला साइँली सलल।‘
रोल्पाको खुंग्रीमा २०२१ सालमा जन्म भई २०३९ सालको एसएलसीको नतिजा पश्चात् उच्चशिक्षाको सिलसिलामा २०४० मा राजधानी काठमाडौमा प्रवेश गर्नुभएका लेखक, साहित्यकार तथा प्रशासक अमर अधिकारीका रोचक अनि भावुक घटनाहरु उहाँको पुस्तक ‘ओगिल्जा’ ले छर्लंग पारेको छ। काठमाडौँमा रहँदा विभिन्न समयमा रोल्पाली हुनुको पीडा भोग्दैआउनुभएका अधिकारी १६ वर्ष संस्थान सेवा र २३ वर्ष निजामती सेवा गरी जम्मा ३९ वर्ष सरकारी सेवा गरि डेढवर्षअघि अनिवार्य अवकाश पाएका हुन्। अवकाशपश्चात् साहित्य र लेखनमा सकृय हुनुका साथै चर्चा पनि कमाएका अधिकारीले विभिन्न स्थानहरुबाट समेत अनेक उपाधिहरु पाएका छन्।
एकैदिनमा चारओटासम्म लेख रचना रच्नेगरेका अधिकारीको दिनमा करिब पाँच हजारभन्दा बढी शब्दहरुको पुञ्ज बनाउनसक्ने क्षमता छ। विभिन्न सञ्चार माध्यमहरुमा दिनमा उनका चारओटासम्म लेख रचनाहरु प्रकाशन भएका छन्। यति धेरै संख्यामा लेख रचना छापिने लेखकमा अधिकारी सायद नेपालकै पहिलो हुनेमा उनकाे दावी छ। उनलाई कलम र कागजको आवश्यकता पनि पर्दैन, भाषाविद्को खाँचो पनि पर्दैन, त्यस्तै ब्याकरणमा आफ्नै दख्खल छ। रत्नपार्कबाट बुढानिलकण्ठसम्मको बसयात्रामा मोबाइलमै दुईपेजको लेख रच्ने अधिकारीले मनमा उब्जेका विषयहरु मोबाइलमा तुरुन्तै टिपोट गरिहाल्छन्।
कुनैबखत सिंहदरवारको कम्प्युटर हीरोको नामले पनि चिनिएका अधिकारीको कम्प्युटरकलाको सबैले तारिफ गर्थे भने एकैछिनमा एकपेज किबोर्डबाट कम्प्यूटर स्क्रिनमा सुद्धासुद्धिसहित उतार्दा आफू कार्यरत मन्त्रालयका सचिवहरुल समेत छक्क पर्थे र भन्नेगर्थे “हामीलाई पनि सिकाइदिनुस् न यसरी खरररर टाइप गर्न।” टाइपिङ रफ्तार र सुद्धासुद्धिमा दक्षता भएकै कारण उनलाई बढी खट्नुपर्दथ्यो। राती नौ बजेसम्म मन्त्रालय र सार्वजनिक विदाका दिनहरुमा समेत विभागमा घोँटिएर सरकारी सेवा गरेका अधिकारीले निजामती सेवा पुरस्कार कहिल्यै पनि पाएनन्। किन कि उनमा चाप्लुसी र चाकडी गर्ने कला थिएन। पुरस्कार नपाउँदा अधिकारी सन्तुष्ट नै छन्। किन कि नेपालमा कस्ताखाले मान्छे पुरस्कृत र सम्मानित हुन्छन् भन्ने कुरा उनलाई छर्लंगै छ। बाह्रवर्ष सिंहदरवारमा विताएका एक कर्मठ कर्मचारी अधिकारीले देश किन बिग्रँदो छ भन्ने कुराको तमाम कारणहरु थाहा पाइसकेका छन्।
अवकाशपश्चात् मनमा गुम्सेका देशमा ब्याप्त विकृति, विसंगती र भ्रष्टाचारका विरुद्धमा कलम चलाउने सायद उनी नै पहिलो कर्मचारी होलान्। २०५३ मा गोरखापत्रमा पहिलो कथा प्रकाशन पश्चात् साहित्य यात्रामा लागेका अधिकारीका कैयन लेख रचनाहरु गोरखापत्र र कान्तिपुर लगायतका अन्य पत्रिकाहरुले प्राथमिकताका साथ प्रकाशन गर्दथे। २०६१ सालमा पहिलो कृतिको रुपमा बालकविता संग्रह ‘इन्द्रेणी’ प्रकाशन गरेका अधिकारीले केही वर्ष कलम चलाउन भ्याएनन्। २०७९ असारमा अवकाशपश्चात् दाङको एक मिडियाले उनलाई रोल्पाका सिद्धिचरण भनिदिएपछि अधिकारीमा झनै उत्साह छाएको छ। २०८० मा उनका दुई कृतिहरु ‘ओगिल्जा’ र ‘रापतीका अलग शब्दहरु’ सार्वजनिक भैसकेका छन्।