जब साथ र सहयोगको आवस्यकता हुन्छ तब परिवारबाट दुत्कारिन्छ। जीवनका ती अमुल्य पल छोराछोरीको भरिया बनिन्छ तर अन्तिम क्षणमा अर्काको कांधको सहारामा घाट पुग्नु पर्छ।

बिडम्वना भनौं या हामीले दिएको सस्कार गलत हो वा संस्कार दिन नजानेको हो? जुन बाबाअमाले १०/१२ जना छोराछोरीलाई ऐया भन्न नपारीकन हुर्काइन्छ तीनै छोराछोरी ले एक थान बाआमा पाल्न सक्दैनन्। समय परिवर्तनशिल छ । कालान्तरमा जस्तो घर वरपरको डाँडा पाखापखेरा,गैह्रीखेत कमाएर गुजारा गर्न कठिन छ। आज हरेक कुराले मानिस ब्यस्त छन्। पैसा सर्वमान्य छ।सुबिधाका साधनहरुको प्रयोग बढि छ।मान्छे खाली बस्न चाहादैन।कुनै न कुनै काममा ब्यस्त छ।घर कुरेर या घरमा बुढा ,रोगी जीर्ण बाआमाको पालनपोषण,हेरबिचार गर्न भ्याउंदैनन्।

बुढेसकाल यस्तो अवस्था हो जुन अवस्थामा बालापन फर्केको महसुस हुन्छ। आफुसंग परिवारका सदस्यहरु हासीखुशि बोलिदिए हुन्थ्यो आफ्नो कुरा सुनिदिए हुन्थ्यो लाग्छ तर उनिहरुलाई फुर्सद कहाँ?
आमा त्यो धनको भकारी हो जसले दु:ख र पीडा जति आफ्नो मनभित्र थुपारेर सन्तान हंसाउछिन र बा त्यो बैंकको ए टि एम कार्ड हो जसले सन्तानका सारा ईच्छा पूरा गर्न कुनै कसर बमंकी राख्दैनन्। तर आज यी भकारी र ए टि एम कार्डले परिवारसंग बस्न,मीठो मसिनो खान,हांस्न ,बोल्न र मायाको खडेरीले आश्रमको बाँस बनाएको छ।

प्राय: घरहरुमा बा आमाहरु देख्न पाइदैन। बा आमा देख्न त सहजै पाइन्छ बृद्धाश्रममा। भारतमा त यस्तो प्रबृति बिकराल रुपमा छ नै नेपाल पनि कम छैन। यो बिषयमा भारतको तामिलनाडु राज्यको एउटा गाऊंमा बृद्ध भएका ,काम गर्न नसक्ने अशक्त बृद्धहरुलाई तलईकुत्तल गर्ने परम्परा छ।छोरा बुहारी काम गर्न जानू पर्ने,बच्चाहरु स्कुल जानू पर्ने घरमा भएका बुढाबुढीलाई हेरचाह गर्न नभ्याउने भए पछि ईनारमा नुहाईदिने गर्छन् र बुढाबुढीबाट छुट्कारा पाउँछन्। आजकल त्यो सिस्टम परिवर्तन गरेर मन्द बिषको प्रयोग हुन्छ भन्ने सुन्नमा आएको छ। के यसरी बुढाबुढीबाट छुट्कारा लिनु ठिक हो त? अवस्य पनि होइन।यहि संस्कार नेपाल भित्रिएको त छैन तर फरक ढंगले बाउआमाबाट छुट्कारा यहाँ पनि चाहान्छन्।

नेपालका अधिकांश तिर्थस्थलहरुमा बृद्धाश्रम छन्।त्यहा प्राय आमाहरु नै हुन्छन्। प्राय बिधवा आमाहरु। मैले देखेका राम्दीमा, रिडीमा ,पशुपतिमा,देवघाटमा प्राय बुढी आमाहरु नै हुनुहुन्छ। कसैका जागिरे छोरा,सम्पत्ति भरपुर भएका,ठुला घर भएकाहरुका आमारु धेरै छन्। आश्रममा कसैले दियको दान,भिक्षाले पेट पाले पनि उनका आँखा छोरा आउने बाटोभरी बिछ्याईएका हुन्छन्।

केही समय अगाडि म रिडि पुग्दा आश्रममा बस्ने एउटी आमाले रुंदै भन्नू भाथ्यो-नानी भारतबाट यहासम्म आउन कति दिन लाग्छ? अब मेरो छोरो आउंछ बाटोमा दुःख नपाई आए हुन्थ्यो भनेर। म अवाक हेरेकि थिएं उनलाई । पटुका खोलेर टुप्पोमा बांधेर राखेको केही पैसा देखाएर भन्नू भो नानी यो पैसाले नातीलाई बिस्कुट र कापी लैदिनी हो। आँखा त बाटोमै थिए तर छोरा नआएकै दुई बर्ष बिति सकेछ अब के आउलान्।

राम्दीकि आमाले मेरा छोराबुहारी जागिरे छन् ,ठूलो घर पनि छ उनिहरु फुर्सदिला भए पछि लिन आउंछन्। हे भगवान यी आमाहरुले छोरो लिन आउछ भन्ने आशाको त्यान्द्रोमा सास अड्काएर बसेका छन् तर छोराले आफ्नो शिरको बोझ हटाएकोमा उनिहरु अनजान छन् कि ब्यक्त गर्न चाहान्नन् ?

बिधवा आमाहरु यहाका आश्रममा मात्र नभएर भारतको बृन्दावनमा समेत छन्।बैंशमा बिधवा भए पछि परपुरुषको मुख हेर्नू हुदैन त्यसैले भगवानको शरणमा छौं भन्छन्। सुन्दा त मुटु फुट्ला जस्तो हुन्छ पठाउन कसरी सकेका? आजकल आफ्नै आमा आश्रममा पठाउनेहरु छोराछोरीको जन्मदिन मनाउन आश्रम खोज्दै जान्छन् बिडम्वना।

आखिर किन लान्छन् आश्रम आमा बाबुलाई? सबै ब्यस्तताको कारण मात्रै होला त? आजकलका मान्छेहरु एकल परिवारमा बस्न रुचाउने,मनमस्ती गर्न रुचाउने भएर पनि त होला।पारिवारिक झमेला बेहोर्न नचाहने भएर पनि होला। तर हिजो ती सन्तानको लागि भोको पेट नाङ्गो शरिरले कति कष्ट सह्यो आज तिनै बाआमाका लागि छोराछोरी को कुनै दायित्व छैन?बा आमाको सम्पत्ति मा हक जमाउने सन्तानले उनीहरुको सेवा गर्नु हाम्रो कर्तब्य हो भन्ने किन बुझ्दैनन्? या बुझेर पनि बुझ्न चाहान्नन्?

हामीले पाइअाएको संस्कार अवलम्वन गर्न किन नसकेको?जहाँ अधिकारका कुरा हुन्छ त्यहा कर्तब्य पालना हुनु पर्छ कि पर्दैन? कतिपय सन्तानले त तिमिहरुले रमाइलो को लागि पाएका हौ हाम्लाई,जन्माए पछि पाल्नु,ताल्नु हुर्काउनु त कर्तब्य हो भनेर बाआमालाई धमास दसन समेत पछि पर्दैनन्।यदि कर्तब्य बाआमाले पालना गर्नु पर्छ भने सन्तानले किन पर्दैन?

यस्तै अवस्था रहने,बा आमा वृद्धाश्रममै जानू पर्ने बुढेसकालमा अनि मृत्यु पर्यन्त अनजानको कांधको सहारामा सकिनु पर्नेहो भने अाखिर सन्तान किन चाहियो?त्यो ज्यानै लिने प्रशवपिडा किन बेहोर्नु किन सहनु? जेष्ठ नागरिक भनेका जिउंदा ईतिहास हुन्।ईनिहरु मेटिंदा ईतिहास मेटिन्छ।उनिहरु घरका सान हुन्।यीनको संरक्षण गर्नुको सट्टा श्रममा फाल्नु गलत हो।

वर्षेनी ठाउँ ठाऊंमा बृद्धाश्रम खुलेका छन्। अब सरकारले पनि यसको लागि केही नया काम गर्नु पर्ने छ।भत्ताले मात्रै उनको भावना किन्न सकिन्न जुन उनिहरुबाट मायाले सजिलै पाउन सकिन्छ।सरकार अब जेष्ठ नागरिक राख्ने बृद्धाश्रम बनाउन हैन कि उनिहरुलाइ खुशि र सुखि राख्न डे केयर सेन्टर खोल्नु पर्छ ।जहाँ दिन बिताउन,आफ्ना सुखदुख बांड्न उनैका उमेर समुहसंग रमाउन सकुन्।

हरेक प्रदेश सरकारले यता ध्यान दियो भने हाम्रा जिउंदा इतिहासलाई खुशि राख्न सकिन्छ। उनिहरु खुशि हुनेछन्। परिवारको कमि महसुस हुनेछैन। दिनभर रमाउछन् बेलुका परिवारसंग हुनेछन्।परिवारको ब्यस्तताले गुमेको उनिहरुको पारिवारिक भावना फेरि फर्कने छ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार