बैशाख ०२, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. ५ को स्थानिय युवा क्लबलाई विदेश बस्ने युवाहरुले आर्थिक सहयोग गरेका छन् ।

बागचौर नगरपालिका वडा नं ५ सल्यान स्थित हरियाली युवा क्लवलाई विश्वका विभिन्न देशबाट सहयोग प्रदान गरिएको हो । उक्त क्लवले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम तथा विविध खेलकुद प्रतियोगितात्मक कार्यक्रममा यस्तो सार्वजनिक गरिएको हो ।

विदेशमा बस्ने युवाहरुले आफ्नो गाउँको विविध विकासका निमित्त स्वतस्फूर्त रुपमा क्लबलाई आर्थिक सहयोग गरेको बताईएको छ ।

सहयोग अभियान विदेशको संयोजकको जिम्मा अमेरिकामा बस्ने रवि के.सी. र स्वदेशको संयोजकको रुपमा टिकाराम के.सी. रहेका छन । क्लबलाई हालसम्म २ लाख २७ हजार आर्थिक सहयोग जम्मा भएको संयोजक टिकाराम के.सी. ले बताए ।

जम्मा भएको रकम तथा स्थानीय श्रमदानबाट क्लबको एक कच्ची घर र अन्य विवाह, ब्रतबन्धमा चाहिने सरसामान खरिद गरिएको के.सी ले जनाए ।

२०७३ सालमा स्थापना भएको क्लबलाई विभिन्न कारणले सक्रिय बनाउन नसिकिएको भएता पनि हाल स्वदेश तथा विदेशमा रहेका युवाहरुको पहलमा गाउँ समाजको लागि केहि गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढेर इन्द्र ब. भण्डारी अध्यक्षतामा १० जनाको नयाँ कार्यसमिति चयन समेत गरिएको र यो समिति एकदमै सक्रिय र चलायमान रहने कुरामा विश्वस्त रहेको उनले बताए ।

नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा थानकोटका युवाहरुको पहलमा नै गाउँमै विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु गरि मनोरञ्जनात्मक तरिकाले नयाँ वर्ष मनाएका थिए ।

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार