फागुन १६, सल्यान – सल्यानमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ सोमबारदेखी जिल्लाको बागचौर नगरपालिका वडा नं. २ थारमारेमा रहेको जनकल्याण माविको प्राङ्गणमा जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै पुर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर महराले स्वास्थ्य तन्दुरुस्त, निरोगी र यो देशको नाम उच्च राख्नका लागि खेलको महत्त्व रहेको बताए । उनले देशको विकास र समृद्धिको लागि सक्षम नागरिकको आवश्यक भएकोले नै देशव्यापी रुपमा रनिङ शिल्ड भएको बताए । साथै सम्पुर्ण खेलाडीहरुलाई राष्ट्रसम्म खेलहरुमा भाग लिने गरि खेल खेल्नका लागि शुभकामना व्यक्त गरे ।यस्तै प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले खेललाई मनोरञ्जनका लागी मात्रै नभएर आफ्नो स्वास्थ्य र राष्ट्रको गौरवका रुपमा लिनुपर्ने बताए । अध्ययनबिना खेलक्षेत्रमा अघि बढ्न विद्यार्थीलाई कठिन हुने भएकाले अनुशासन, लगनशील र मेहनतका साथ खेलखेल्न खेलाडीलाई अनुरोध गरे । उनले खेल खेल्ने सबै खेलाडीले जित्ने आत्मविश्वासका साथ खेल खेल्नु पर्ने र प्रतिस्पर्धाकाबिच बाहिरिए पनि सधैंको निम्ति अवसर गुम्यो भन्ने नसोचेर अर्कोपटक जित्नका लागि अगाडि बढ्न अनुरोध गरे ।त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले खेलाडीको प्रोत्साहन र खेल क्षेत्रको विकासको लागि खेलकुदमा लगानी गर्न आवश्यक रहेको बताए । उनले खेलकुद कार्यक्रम खेलाए पनि यसको लागि सरकारले सहि व्यवस्था गर्न नसकेको भन्दै आफुहरु लागि पर्ने जनाए ।यस्तै सल्यान प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरेश अधिकारीले खेलकुदले विद्यार्थीको प्रतिभालाई निखारपन दिने भएकाले खेललाई निरन्तरता दिनुपर्ने जनाए । उनले खेलबाट पनि सल्यानको नाम राष्ट्रसम्म चलेको भन्दै आझै थप राष्ट्रिय खेलाडी उत्पन्न हुनका लागि शुभकामना व्यक्त गरे ।बिहीबारसम्म संचालन हुने प्रतियोगितामा जिल्लाका दश वटै पालिकाका खेलाडीहरु सहभागी भएका छन् । प्रतियोगितामा विभिन्न विधाका करिब ५ सय खेलाडी सहभागि भएका छन् ।

जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य सचिव तुफान वली गरेका हुन भने कार्यक्रमको सहजीकरण कार्यालय प्रमुख शिवराज अधिकारी गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार