जीवात्माको मुकुण्डो लगाएर
मानववस्तीमा ताण्डव नाचीरहेछ
भोकोपेट हत्केलाले अंठ्याएर
भ्याकुरको प्रतिक्षामा बसेको
सुकेनासलाई चुस्न फेरि मच्छर बनेछ।

कहिले जुका बन्छन् त कहिले बल्छी किरा
रुप अनेक गरीकन रगत चुस्छ
कहिले थाहै नपाई
पुच्छर काटिदिन्छ।

दैलो ठेलो काटेर भित्र पस्ने बेला
युधिष्ठिर बन्छ
मझेरीमा पुगेपछि
तारकासुर दैत्य बन्छ
अनि टालेका लुगा च्यातिदिन्छ।
झुपडीमा ताण्डव देखाउँछ।

गंड्यौला ठानेर बारीमा पश्रय दियो
जराको रस चुसी सकेर कतिबेला
गबारो बनेर चुसी चुसी खोक्रो
बांझो बनाइदिन्छ।

घर रखवाला इमान्दार जीव सम्झ्यौं
ब्वाँसो बनेर लुकि लुकि कुखुरा सकेछ
अनुहार कुकुरको जस्तो तर
लुचाई ब्वांसो जस्तो!कस्तो प्राणी ए!

को हो त्यो ? मानववस्तीमा ताण्डव नाच्ने ?
को हो त्यो ? ब्वाँसो ? त्यो बल्छीकिरा,को हो
त्यो गबारो ? थाहा छ त तिमीलाई ?
यै देशका भ्रष्ट नेता हुन् हो यै देशका नेता हुन्।
जसलाई देश सुम्पियौं उनैले खुम्रे किरा,जुका,ब्वाँसा बनेर लुटिरहेका रहेछन् हामी रमिते छि!!!

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार