कार्तिक ११,सल्यान – सल्यानको बागचौरमा प्रथम ‘बागचौर गोल्ड कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। खरिबोट रोयल्स क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता बागचौर नगरपालिका–२ स्थित थारमारे खेलमैदानमा सञ्चालन हुनेछ।

प्रतियोगिता आगामी २०८३ साल कात्तिक १५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। खुला वडा स्तरीय फुटबल प्रतियोगिताका रूपमा आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न टिमले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १११ रुपैयाँ र दोस्रो हुने टिमले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता विधामा जनही ३ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।

आयोजकका अनुसार प्रतियोगितामा प्रत्येक टिमले पालिकाअनुसार र जिल्ला बाहिरका ४ जना खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता शुल्क ११ हजार रुपैयाँ तोकिएको छ।

‘गाउँको गौरव, खेलको उत्सव’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रति युवाको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताका कार्यक्रम संयोजक कमल चन्द रहेका छन् भने सह-संयोजक अशोक बस्नेत छन्। प्रतियोगिताबारे थप जानकारी तथा टिम दर्ताका लागि कमल चन्द (९७६९२४१६६२), दोर्ण गिरी (९८६०८८८७७६), विष्णु मल्ल (९८१२८०१२००) र हिमन्त पुन मगर (९८६३१५२१९४) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बुधवार