दाङ। वर्षौंदेखि विस्तारको प्रतीक्षामा रहेको दाङ तुलसीपुरको टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तारबारे अब प्रत्यक्ष छलफल हुने भएको छ।
सरकारले धावनमार्ग विस्तारका लागि २५ करोड रुपैयाँ बजेट छुट्याएपछि त्यसलाई कार्यान्वयनमा लैजाने प्रारम्भिक तयारीस्वरूप मन्त्रीदेखि प्राविधिक टोलीसम्म एयरपोर्टमै पुगेर स्थानीयसँग छलफल गर्न लागेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक मुकेश डंगोल सहित इन्जिनियर तथा प्राविधिक टोली बुधबार टरिगाउँ एयरपोर्टको स्थलगत निरीक्षणमा आउने भएका छन्।
स्थलगत निरीक्षणसँगै एयरपोर्टमै स्थानीय सरोकारवालासँग खुला छलफल आयोजना गरिने भएको छ। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्य, दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदी लगायतको सहभागिता रहने बताइएको छ।
रास्वपाका नेता बिमल रिजालका अनुसार, विनियोजित २५ करोड रुपैयाँबाट धावनमार्ग विस्तारको काम कसरी सुरु गर्ने, प्राविधिक रूपमा के–कस्ता काम अघि बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुनेछ।
हाल टरिगाउँ एयरपोर्टको ७५० मिटर मात्रै धावनमार्ग कालोपत्रे गरिएको छ। धावनमार्ग छोटो भएकै कारण ठूला विमान अवतरण गर्न नसक्दा नियमित र सहज हवाई सेवा विस्तारमा चुनौती रहँदै आएको छ।
धावनमार्ग विस्तारको माग लामो समयदेखि उठ्दै आए पनि बजेट विनियोजनपछि पहिलोपटक बजेट कार्यान्वयन र विस्तारको ठोस योजनाबारे प्राविधिक तहमा छलफल हुन लागेको हो।
स्थानीयको लामो समयदेखिको माग, सरकारी बजेट र प्राविधिक टोलीको स्थलगत निरीक्षणसँगै टरिगाउँ एयरपोर्ट विस्तारको कामले अब कुन दिशा लिन्छ भन्नेमा दाङवासीको चासो बढेको छ।