माघ १० काठमाडौ – स्याङ्जाको वालिङ स्थित खेल मैदानमा अनुमति बिना हेलिकप्टर अवतरण गरेकाे भन्दै प्रभु एयरका पाइलट ५० वर्षिय रनेश डंगोललाई निलम्बन गरिएको छ।

माघ ५ गते दिउँसो २ बजेतिर वालिङ स्थित खेल मैदानमा फुटबल खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेपछि कारबाही स्वरुप नागरिक उड्डयन प्राधिकरणले निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।

हेलिकप्टर अवतरण पछि स्थानीयकाे कुटपिटबाट घाइते पाइलट डंगोल अहिले बेडरेस्टमा रहेका कारण केही समयपछि अनुसन्धान गरेर मात्रै निलम्बन बारे थप निर्णय लिने प्राधिकरणले जनाएको छ।

पाइलट कुटपिटमा संलग्न ६ जना पक्राउ

हेलिकप्टर अवतरणपछि पाइलट डंगोलमाथि कुटपिट गर्ने ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

पक्राउ पर्नेमा साेहि हेलिकप्टरमा सवार यात्रु समेत पक्राउ परेका छन। हेलिकप्टरमा सवार विनाेद गैह्रे, उज्ज्वल थापा, सुशील गिरि र खिम बहादुर थापा छन भने खेलकुद आयाेजक मध्येमा यामराज गुरुङ र सुरेश श्रेष्ठलाई साेमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक पदमराज थापाले बताए।

पक्राउ परेकाहरु माथि मंगलबार आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमति लिई अभद्र व्यवहार कसुरमा मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए।

प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार