माघ २ रोल्पा – जिल्लाको १० ओटै स्थानीय तहमा लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालय र सडक पूर्वाधार विकास कार्यालय रोल्पाको आयोजनामा जिल्लाका विभिन्न ठाँउमा सञ्चालन भइरहेको मोटरेबल पुलहरुको काम तिव्रगतीमा सञ्चालन भइरहेको बताइएको छ।
परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौरमा माडीचौर खोला मोटरेबल पुलको निर्माण कार्य अगाडि बढिरहेको परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले बताए। आउदो असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यका साथ काम तिव्र रुपमा भइरहेको अध्यक्ष डाँगीले बताए।
रोल्पामा लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयले २०७७ सालमा ८ वटा परेकोमा २ वटा निर्माण भएर पनि उद्घाटन भइसकेको छ भने ६ वटा निर्मानाधिन काम भइरहेको बताइएको छ। २०७८ सालमा ५ वटा र संघीय सरकारको १ वटा गरि जम्मा ६ वटा गरि जम्मा १२ वटा मोटरेबल पुल निर्माण हुने र बाकी ६ वटाकाे पनि अब निर्माण काम अगाडि बढ्ने अवस्थामा रहेको सडक पूर्वाधार विकास कार्यालय रोल्पाले जानकारी दिएको छ।
अहिलेसम्म दुई वटा मोटरेबल पुल निर्माण काम सम्पन्न भएर पनि संचालनमा आइसकेका छन।जसमा लुंग्री खोला र जिबो खोला पुल टुटुमिरुल रहेका छन। निर्माणाधीन भएका मध्ये धाङ्सी खोला पुल,माडीचौर खोला पुल,घोडाचौर पुल र उवाँ खोला पुल रहेका छन। यो वर्ष निर्माण कार्यान्वयनमा आउने पुलहरु पाछाबाङ खोला पुल,बाजाबाङ पुल,जुतुङ खोला पुल,माडी खोला टार्केबाङ पुल,लोटचौर खोला पुल र पैसी खोला पुल रहेको सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख दिपक डाँगीले बताए।
अहिले उवाँ खोला पुलले आफूहरूलाई अप्ठ्यारो परेको बताउदै सुनछहरी गाउँपालिकाको फुलीवनमा पहिरो गएकाले बाटो नभएको र गत साल जति काम भएको छ त्यतिनै काममा अडिएकोले एक हप्ता भित्र उक्त पुलको काम अगाडि बढाउने प्रमुख डाँगीले बताए। साथै पुल निर्माण हुने ठाउँ अती दुर्गम भएकोले नयाँ प्रविधि प्रीस्टेज मानिसले लान समेत मुस्किल भएको बताउदै अन्य व्यवस्थापन भइरहेको पुलहरु तोकिएकाे समय अवधिमै सकिने सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख डाँगीको भनाइ रहेको छ।
अहिलेका लुम्बिनी प्रदेश मुख्य मन्त्री कुलप्रसाद केसी लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रहदा उनकै पहलमा रोल्पामा ८ वटा पुल ल्याएकाे र केसी लुम्बिनी प्रदेशको मुख्य मन्त्री भएपछि ६ वटा पुल कार्यान्वयनमा आउने प्रक्रियामा रहेकाे बताइएको छ।
मुख्य मन्त्री केसीले फिल्ड भिजिटिङ र ठेकेदारसँग छलफल गरि टेन्डरीङ प्रक्रियामा गइसकेको र केही जादै गरेको प्रतिक्रिया दिएका छन। भौतिक पूर्वाधार विकासको कति छ प्रगति त्यसलाई मध्यनजर गर्दै नितिगत हिसाबले आफूले पारे पनि छिट्टै काम सम्पन्न होस् भन्ने पक्षमा आफू रहेको मुख्य मन्त्री कुलप्रसाद केसीले बताएका छन।