भदौ १८ पर्वत – गएराती विभिन्न ठाउँमा पहिरोले पुरिँदा पर्वत जिल्लाभर पाँचजनाको मृत्यु भएको छ। तीन जना बेपत्ता भएका छन्।

बिहीबार रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा एकै परिवारका पाँचजना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन्। पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ। तीन बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ।

कुश्मा नगरपालिका–११ पकुवामा पहिरोमा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको शव फेला परेको छन। त्यसैगरी मोदी गाउँपालिका–५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीया ठूलीमाया थापाको मृत्यु भएको छ।

रातभर भीषण वर्षा भएको हुदा जिल्लाका अन्य ठाउँमा पनि धेरै क्षति भएकाे अनुमान प्रहरीले गरेको छ तर अहिलेसम्म पूर्ण विवरण नआएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार