भदौ ६ रोल्पा – पहिरोको जोखिमका कारण स्थानान्तरण गरिएको सुनछहरी गाउँपालिका–१ बाछेममा पहिरोले चार वटा घर बगाएको छ।

तस्बिर ;जुनिस कुमार बिष्ट

गत वर्ष पहिरोको उच्च जोखिम भएपछि प्रदेश सरकारले १५ करोड लगानीमा फुलिबनबाट ४० घर परिवारलाई बाछेममा सारिएको थियो। सारिएको नयाँ बस्तीमा अहिले पनि पहिरोले बितन्डा मच्चाएकाे छ। पहिरोमा परि रणबहादुर घर्ती, टेकमाला घर्ती, गजमा घर्ती र मनपुरा घर्तीको घर बगाएको जिल्ला प्रहरी कार्यालय राेल्पाले बताएको छ।

तस्बिर: जुनिस कुमार बिष्ट

त्यसैगरी दिलबहादुर घर्ती, चिमा घर्ती, धनमाला घर्ती, बिजयी घर्ती र दलबहादुर घर्तीको घर उच्च जोखिममा छन्। उक्त नयाँ बस्ती उच्च जोखिमा रहेकाले रातको समयमा सबै सुरक्षित ठाउँमा रहेकाले मानविय क्षति हुन नपाएको प्रहरीले बताएकाे छ।

जनसहारा अनलाइन संग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डिएसपी नरेश सुवेदीले भन्नुभयो;  `पिडित परिवारको उचित तथा दीगो व्यवस्थापन गर्ने गरि काम शुरु गरिएको छ।´ अब आफै घटनास्थल पुगेेर त्यहाँकाे अवस्था बुझेर राहात तथा उद्दारकाे लागि थप निर्णय गरिने डिएसपी सुवेदीले बताउनुभयो।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार