श्रावण १० काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक बनाएको आरोपमा एकजना पक्राउ परेका छन्।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखाका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३८ वर्षीय विकास भनिने सोमप्रसाद घिमिरे रहेको प्रहरीले जनाएको छ। घिमिरेले केही दिनअघि मात्र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको विषयमा अश्लील टिकटक भिडियो बनाएर सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेका बताइएको थियाे। घिमिरे माथि प्रहरी विद्युतीय ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको ब्युरो शाखाले जनाएको छ।

पक्राउ परेका घिमिरे विरुद्ध मानहानी र साइबर क्राइम अन्तर्गत प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले घिमिरेलाई आफ्नै घरबाट साउन ७ गते पक्राउ गरी साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौं ल्याइएको हाे।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार