रोल्पामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

गंगादेव गाउँपालिका–३ लोरीबिनि निवासी अन्दाजी ७८ वर्षीय टंकबहादुर वली आइतबार बिहान भिरबाट लडेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब ९ः३० बजे आफ्नै घरदेखि करिब ५०० मिटर पूर्वतर्फ बाटोबाट अन्दाजी २० मिटर तल घोप्टो अवस्थामा वलीलाई देखेपछि स्थानीयले प्रहरी चौकी जिनावाङ रोल्पामा खबर गरेका थिए।

खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जिनावाङबाट प्रहरी सहायक निरीक्षक ललितबहादुर बुढाथोकीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलमा पुगेर बुझ्दा वलीको घटनास्थलमै मृत्यु भइसकेको र आफन्तहरू घटनास्थलमै रहेको जनाएको छ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठको कमाण्डमा SOCO टोलीसमेत खटिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार