रोल्पा — शनिबार राति रोल्पामा चट्याङबाट एक वृद्धको ज्यान गएको छ भने खोलामा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ।

शनिबार साझ परिवर्तन गाउँपालिका–४ तातापानीस्थित तुसारवोट बस्तीका ७७ वर्षीय लालु वलीको घर नजिकै रहेको रुखमा चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्लामा प्रहरी कार्यालय राेल्पाले जनाएको छ। उक्त चट्याङकै कारण उनका एक गोरु समेत मरेको छ।

यसैबीच, सोही राति सुनिलस्मृति गाउँपालिका–५ दहचौरस्थित लुङग्री खोलामा फसेका दुई किशोरको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामा सुनिलस्मृति–७ तेबाङका १७ वर्षीय धनराज बिष्ट र लुङ्ग्री गाउँपालिका–७ हार्जङका १६ वर्षीय खिमराज पुन मगर रहेका छन्। प्रहरी नायव निरीक्षक ओमप्रकाश बटालाको कमाण्डमा खटिएको ५ जनाको टोली र स्थानीयवासीको सहकार्यमा उनीहरूको उद्धार गरिएको हो।

त्यस्तै, लुङ्ग्री गाउँपालिका–५ बलालेस्थित लुङ्ग्री खोलामा २३ जना मानिस फसेको खबर पाएपछि प्रहरी चौकी किलाचौरबाट खटिएको टोली र स्थानीयको सहयोगमा उनीहरूलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख १३ गते आइतवार