सल्यानको बागचौर नगरपालिका–९ का स्थानीय बासिन्दाले खानेपानी मुहान दर्ताको सिफारिस नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

उक्त वडाका ९४ घरधुरी रहेको कुयापानी चौखेढुंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पुर्खौ देखि उपभाेग गर्दै आएको पानीको मुहान अवैधानिक प्रक्रियाबाट वडा नं ८ लाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको तर उपभोक्ता समितिलाई सिफारिस नदिएको र मुहान दर्ताका लागि पटकपटक ध्यानाकर्षण गराउदा समेत वडा अध्यक्ष पन्छिन खाेजेपछि उपभोक्ता समितिले बाध्य भएर तालाबन्दी गरेको जनाएको छ।

उनीहरूले याे बाहेक वडाध्यक्ष सहित सचिव समेत कार्यालयमा नआएको र कुनै पनि सदस्यलाई कार्यवाहक जिम्मेवारी नदिएको पछि सेवा लिनबाट बन्चित भएको समेत बताएका छन।सचिव विदामा बसेकाे र वडा अध्यक्ष पनि शुक्रबार देखि कसैलाई कार्यवाहक नदिएर हिडेपछि वडा कार्यालय सेवा बिहिन बनेकाे छ। तालाबन्दी पछि सर्वदलीय बैठक समेत बसेर राजनीतिक दलका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाउदै वडा अध्यक्षकाे मनपरि हर्कत प्रति राजनीतिक दलका प्रतिनिधिहरूले संयुक्तरूपमा हस्ताक्षर गरि वडाध्यक्षले अटेरी गरेर कार्यालय नगएको निष्कर्ष निकालेका छन।

उता वडाध्यक्ष यज्ञ बहादुर डाँगीले भने आफूले सिफारिस नदिएको भन्ने आरोप गलत भएको बताएका छन्। उनका अनुसार माग गरिएको स्थानमा वास्तविक मुहान नभएको र खोला नै मुहानको रूपमा दर्ता गर्नुपर्ने भएकाले सिफारिस दिन असहज भएको उनकाे दावी छ। डाँगीले भने, “नगारे खोला प्राकृतिक रूपमा खोला हो, मुहान होइन। अघिल्लो सरकारले लुगाधुने खोलालाई वडा नं ८ को लागि मुहान दर्ता गर्न सिफारिस गरेको थियो। तर, अहिले चौखेढुंगामा मुहान दर्ताको माग भइरहेको छ। सिफारिस गर्दा सबै विवरण खुलाएर दिनुपर्ने हुन्छ, तर उहाँहरूले त्यसलाई स्वीकार्न चाहनुभएको छैन।”उनका अनुसार आफूले मुहान दर्ता भएको स्थानमा पुनः दर्ता नगर्न वडा नं ८ को नगरपालिकामा निवेदन दिएको छ।वडाध्यक्ष डाँगीले केही स्थानीयले कानुनी प्रक्रिया नअपनाई अराजकताका साथ हातपात गर्ने प्रयास गरेको आरोपसमेत लगाए।

उनले साेहि खानेपानी समितिका अध्यक्ष धनेन्द्र विमल वली `प्रविण´ले हातपात समेत गरेको आराेप लगाएका छन ।तर उता `प्रविण´ले भने अहिले वडा अध्यक्ष संग भेटघाट भन्दा पनि सम्पर्क नै नभएपछि वडामा तालाबन्दी गर्नु पर्ने अवस्था आएकाले भेट नभएरै हातपात गर्याे भन्नू लज्जास्पद भएको प्रविणले जनसहारासंग बताए।

अहिले वडा कार्यालयमा वडा सदस्य बाहेक काेहि छैनन। सचिव पनि विदामा बसेकाे उनी पनि कार्यालयमा तालाबन्दीकाे खबर पछि मात्रै कार्यालयमा फर्केका छन। वडा अध्यक्ष डाँगी भने आधिकारिक रुपमा कहाँ गएका हुन भन्ने वडा सदस्य समेत बेखबर छन। फाेन सम्पर्कमा वडा अध्यक्ष डाँगीले कसैलाई सुर्खेत कसैलाई नेपालगन्ज र कसैलाई सल्यानमै भएको बताउदै आएका छन।

उक्त मुहान दर्ता बारे नगारे खाेला र चौखेढुंगा मुहान करिब १०० देखि २०० मिटर दुरीमा छन् । उक्त स्थानमा प्राविधिक सर्वे गर्दा समेत ९४ घरधुरीले मुहान दर्ता गराउन खाेजेकाे ठाउँ प्रक्रिया भित्र नै पर्ने स्पष्ट देखिए पनि अनेक बहानामा वडा कार्यालयले मुहान दर्ता गरेको छैन। तर वडा अध्यक्ष डाँगीले भने नगारे खाेला प्राकृतिक रुपमा मुहान नभएर खाेला भएको बताउँछन् उनका अनुसार अघिल्लो सरकारले लुगाधुने खोलालाई वडा नं ८ को लागि मुहान दर्ता गर्न सिफारिस गरेको समेत दावी छ।

आफुहरुले उपभाेग गर्दै आएकाे मुहान अर्काे वडामा हस्तान्तरण गर्न खाेजेपछि स्थानीयहरुले त्यसमाथि हक दावी बिराेध गर्दै पटकपटक वडा कार्यालयलाई मुहान दर्ताका लागि आग्रह गरे तर मुहान दर्ताका लागि कहिले वडा अध्यक्ष त कहिले केही स्थानीय नै बाधक बनेर अहिले याे अवस्था सिर्जन भएको प्रविणले बताए।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार