सरकारले अपाङ्गता भएका व्यक्तिहरूको हक सुनिश्चित गर्ने प्रतिबद्धता सहित अपाङ्गता भएको व्यक्तिहरूको अधिकार सम्बन्धी विभिन्न कानुन बनाएता पनि अधिकार नपाएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् ।

सरकारले विभिन्न ऐन, कानुनहरु ल्याएता पनि अपाङ्गता भएका व्यक्तिहरूको अवस्थामा खासै सुधार आउन नसकेको उनीहरूको भनाइ छ । आज मंगलबार राेल्पाकाे सुनिलस्मृति गाउँपालिकाको सुलिचौरमा सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आयोजना गरेको अपाङ्गता अधिकार सम्बन्धि सशक्तीकरण तथा अभिमूखिकरण कार्यक्रममा यस्तो कुरा बताएका हुन ।

सरकारले उनीहरूको हक सुनिश्चित गर्ने प्रतिबद्धता पटक–पटक दोहोयाई रहदा आफूहरूले भने अपाङ्गता अधिकार पाउन नसकेको बताएका थिए । सार्वजनिक संरचना, सेवा प्रणाली, यातायात सेवा र सूचना तथा सञ्चार सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचबाट समेत वञ्चित हुन परेको उनीहरुको गुनासो रहेको थियो ।

अपाङ्गता भएकै कारण सामाजिक रूपमा र बहिस्कृत र तिरस्कृत हुनुपर्ने बाध्यता अहिले पनि कायमै रहेको छ । नेपालको संविधान, कानुन र नीतिहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न अधिकार, सेवा सुविधा, अवसर, विशेष व्यवस्था र सहुलियतहरू प्रदान गरेको भए पनि ती प्रावधानहरू व्यवहारमा लागू हुन सकेका छैनन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले अपांगता भएका व्यक्ति बिचराका पात्र नभएको बताउदै अपाङ्गता भएका व्यक्तिहरुले पनि समाजको हितको लागि महत्वपूर्ण योगदान दिएकाे बताइन्। अपाङ्गता भएका व्यक्तिहरुले अधिकार नपाएको विषयप्रति यस विषयमा छलफल गर्नुपर्ने समेत उनको भनाइ छ।

सामाजिक विकास डिभिजन कार्यालय प्युठानका कार्यालय प्रमुख पुन्य प्रसाद न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जिल्ला समन्वय समिती उपप्रमुख कर्मलाल परियार, कार्यक्रममा अतिथिको रुपमा सुनिलस्मिती गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा, प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई, वडा अध्यक्षहरु, लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रशिक्षण राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश सचिवालय सदस्य जुमान सिंह केसीले गरेका थिए भने कार्यक्रमको संञ्चालन सुनिलस्मृति गाउँपालिकामा कार्यरत महिला विकास निरीक्षक भगवती बुढाले गरेकि थिइन।

प्रकाशित मिति : २०८१ असार २५ गते मङ्गलवार