सल्यानकाे श्रीनगर सितलपाटीमा रहेकाे साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड शाखाकाे डिपाेमा प्रयाेग अवधि सकिएर खराब भएको मल फेला परेको छ।

आज शुक्रबार कर्णाली प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले उक्त डिपाेमा अनुगमन गर्दा प्रयाेग अवधि सकिएकाे ८०० बाेरा `खेती शक्ति´ नामक मल फेला परेको हाे। मन्त्री शर्माका अनुसार याे मल अवैधानिक समेत हाे। नेपाल सरकारले अनुदान नदिएकाे र प्रदेश सरकारले पनि उक्त मलकाे सिफारिस नगरेकाे तथा साल्ट ट्रेडिङले अर्को कम्पनीकाे मल बिक्रीवितरण गर्दा त्यसलाई स्वत अवैध मानिन्छ भने प्रयाेग अवधि सकिएकोमा तत्काल त्यसलाई नष्ट गर्ने प्रक्रिया पूरा गरि व्यवस्थापन गर्न मन्त्री शर्माले निर्देशन दिएका छन।

डिपाेले मल छैन भन्दै कृषकलाई बिक्रीवितरण नगरेको र बिग्रेकाे मल दिने गरेको गुनासो प्राप्त पछि मन्त्री शर्माले अनुगमन गर्दा अहिले साल्ट ट्रेडिङ कर्पाेरेसनकाे डिएपी ४ हजार बाेरा बढी र युरिया ३५ सय बाेरा बढी मल रहेको भेटिएको हाे।

अहिले कृषकका लागि सिजनकाे समयलाई ध्यानमा राखि सहकारीकाे माग भन्दा बढि परिणाममा प्रदेश सरकारले अनुदानमा मल पठाएकोमा कृषकले मल नपाएको गुनासाे सुनेपछि तत्काल अनुगमन गर्नु परेको मन्त्री शर्माले बताए। `अहिले सिजनका बेला कृषक मलका लागि भौतारिएकाे फाइदा उठाउदै डिपाेले राम्रो मल भन्दा पहिला बिग्रेको मल जाे सिमेन्ट जस्तै सटभएकाे छ त्यहि नै बिक्री गर्ने गरेको रहेेछ त्याे लगाएत बिक्रीवितरण भइसकेको मल समेत फिर्ता ल्याएर नष्ट गर्न निर्देशन गरिएको छ।´ मन्त्री शर्माले जनसहारासंग भने।

उक्त डिपाेबाट खेती शक्ति नामक खराब मल खरिद गरिसकेका कृषकले तत्काल त्याे मल फिर्ता गर्न अनुरोध समेत मन्त्री शर्माले गरेका छन। उक्त मलले माटाेकाे उर्वरा शक्तिमा ह्राश ल्याउने हुदा प्रदेश सरकारले अहिले सिफारिस नगरेकाे र याे मल एक वर्ष पहिले नै प्रयाेग अवधि सकिएपछि गाेदाममै थन्किएको अवस्थामा अहिले उक्त मल लिन डिपाेले कृषकलाई विभिन्न लाभ देखाए बाध्य बनाउदै बिक्रीवितरण गरिरहेकाे समेत अनुगमनका क्रममा खुलेको छ। अहिलेकाे सिजन अनुसार बढि आवश्यक देखिएको आलु खेतीका लागि बागचौर नगरपालिका ११/ १२ बाफुखाेलामा रहेको बाफुखाेला कृषि सहकारी संस्था लिमिटेडलाई ६० बाेरा र बागचौर नगरपालिका ९ स्वाभिमान कृषि सहकारी संस्थाले लिएको १० बाेरा लिएको रेकर्ड डिपाेसंग रहेको मन्त्रीका स्वकीय सचिव धनेन्द्र बिमल वली `प्रविन´ ले बताए।

प्रदेशले सिफारिस गरेकाे बागचौर नगरपालिका ८ र ९ मा सुन्तला खेतीकाे लागि त्यस्तै साेहि नगरपालिका ११ र १२ काे लागि आलु खेतीका लागि र छत्रेश्वरी गाउँपालिका १ र २ मा आलु खेतीका लागि अत्यावश्यक मानेर सिफारिसमा परेका छन। त्यस क्षेत्रमा पुस २९ गते साल्ट ट्रेडिङ कर्पाेरेसनकै मल कृषक सम्म पुर्याउने प्रतिबद्ध डिपाेले गरेको छ।

अब यस्तै कार्य गरेको भेटिए कानुन बमोजिम कारबाही गरिने चेतावनी दिदै कृषकलाई सिफारिस अनुसारको गुणस्तरीय मल बिक्रीवितरण गर्न डिपाेलाई सचेत गराएकाे मन्त्रीका स्वकीय सचिव वलीले बताए।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार