साउन १५, सल्यान – सल्यानको शारदा नगरपालिकाले जिल्लाकै प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा सिसि क्यामेरा जडान गरेको छ ।
पछिल्लो समयमा बजार क्षेत्रमा सडक दुर्घटना तथा चोरीका घटना बढ्न थालेपछी घटनाहरुको पहिचान गर्न र बजार क्षेत्रलाई सुरक्षित राख्नका लागि श्रीनगर बजारका विभिन्न भाग र नाकाहरुमा सिसि क्यामेरा जडान गरिएको नगर प्रमुख प्रकाश भण्डारीले बताए ।
उनले बजारका सबै क्षेत्रलाई समेट्ने गरि ८ थान सिसि क्यामेरा जडान गरिएको र त्यसको रेखदेख र सुरक्षाको जिम्मा इलाका प्रहरी कार्यालय शितलपाटीलाई दिइएको जनाए ।
नगरपालिकाका सुचना नविन मल्लका अनुसार मोसन डिटेक्सन एआइ बेस्ड ३६० डिग्री रोटेड क्यामेरा श्रीनगर बजारमा जडान गरिएको हो ।
यसै आर्थिक वर्षमा नगरका अन्य बजार क्षेत्र, बरला, मार्के, दुल्धारापोखरा लगायतका ठाँउमा सिसि क्यामेरा जडानको काम गर्ने नगरपालिकाले जनाएको छ ।
यस अघि नै सल्यान सदरमुकामका विभिन्न ठाँउमा नगरपालिकाले सिसि क्यामेरा जडान गरिसकेको छ ।