असार ११, सल्यान – सल्यानकाे छत्रेश्वरी गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएकाे छ । आइतबार भएकाे १४ औं गाउँसभा तथा बजेट अधिवेशनमा
गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथाेकीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा कृषि र शिक्षालाइ विषेश जाेड दिइएकाे छ ।

शिक्षामा सूचता तथा संचार प्रविधिका माध्यमबाट गुणस्तरिय शिक्षण सिकाइको वातावरण निर्माण गर्न सबै सामुदायिक विद्यालयहरुमा ईन्टरनेट कम्प्युटरको व्यवस्थाका साथै अनलाइन ई– हाजिरीलाई माध्यमिक तहमा परीक्षणको रुपमा लागु गरिने उल्लेख गरिएकाे छ । कक्षा १ देखि ८ सम्म “हाम्रो छत्रेश्वरी” नामक पाठ्यपुस्तक कायान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा समावेश गरिएकाे छ ।

त्यस्तै कृषि क्षेत्रको व्यवसायिकरण, विविधिकरण, आधुनिकीकरण तथा यन्त्रिकरणका माध्यामबाट कृषिजन्य उत्पादन रउत्पादकत्व बृद्धिका कार्यक्रमहरु गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ । “उत्पादनमा प्रोत्साहन, उत्कृष्ट कृषकलाई सम्मान” भन्ने नारालाईआत्मसात गरी यस वर्ष कृषि क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कृषकलाई सम्मान तथा पुरस्कारको व्यवस्था मिलाईने पनि कार्यक्रममा समावेश गरिएकाे छ ।

करेसाबारी सुधारका लागी सिँचाई अपुग भएका साना किसानका लागी कृषी समुह, सहकारी तथा कृषी फर्म मार्फत साना सिंचाई निर्माण तथा प्लाष्टिक पोखरी निर्माण कार्यक्रम संचालन गरिने पनि अध्यक्षले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।

उपाध्यक्ष बुद्धा कुमारी खत्रीले प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षकाे बजेट ५० करोड ३ लाख ३१ हजार ३ सय ९४ बजेट विनियोजन भएकाे छ । बजेटमा आम्दानी तर्फ संघिय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान ९ करोड, ९ लाख, शर्सत अनुदान चालु तर्फ २२ करोड ७१ लाख, शर्सत अनुदान पुँजिगत २ करोड ६९ लाख, राजस्व बाँडफाँड ८ करोड ७१ लाख ८३ हजार ९ सय, प्रदेश सरकाबाट प्राप्त वित्तिय समानिकरण अनुदान १ करोड ४२ हजार, राजस्व बाँडफाँडमा ७ लाख ६५ हजार ४ सय ९४ प्रदेश शर्सत अनुदान १ करोड ८४ लाख ४० हजार, प्रदेश विशेष ४० लाख र आन्तरिक श्रोत २ करोड ७० लाख अनुमानित छ ।

त्यस्तै वडागत रूपमा वडा नम्बर ५ लाइ ६० लाख र अन्य वडाहरूलाइ ५० लाख बजेट विनियाेजित गरिएकाे छ ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार