जेठ ०७, सल्यान – सल्यानको बागचौर नगरपालिकामा आज देखि दोस्रो मेयरकप प्रतियोगिता सुरु भएको छ ।
बागचौर नगरपालिकाको आयोजनामा नगरपालिकाकै पर्यटकीय स्थलकको रुपमा चिनिने अग्लाटाकुरा भ्युटावरमा कार्यक्रम उद्घाटन गरिएको हो ।
नगरपालिकाको आयोजनामा भएको दोस्रो मेयरकप प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले विभिन्न किसिमका खेलहरुलाई उत्सवका रुपमा मनाउने प्रथा हटाई खेलकुदलाई निरन्तरता दिनु पर्ने बताए । उनले खेलाडीहरुलाई राज्यस्तरबाटै उचित व्यवस्थापन गरिने हो भने खेलाडीहरुमा प्रेरणा मिल्ने र खेल क्षेत्रबाट देशको नाम चिनाउने कुरामा विश्वास रहेको जनाए ।
प्रमुख अतिथि रावलले बागचौर नगरपालिकाका १२ वटै वडाका खेलाडीहरुलाई अनुशासित तरिकाले खेल खेल्न अनुरोध गर्दै कार्यक्रम सफलताको शुभकामना दिए ।
कार्यक्रमका विशिष्ट अतिथि बागचौर नगरपालिकाकि उपप्रमुख सुम्निमा डि.सी. वलीले दोस्रो मेयरकप प्रतियोगिताका सम्पुर्ण खेलहरु सभ्य, भव्य र कुनै पनि विवादबिना नै खेल सम्पन्न रहोस भनी शुभकामना दिइन । उनले खेलाडीहरु सबैलाई खेलमा सहभागीता भै स्वच्छ तरिकाले प्रतिस्पर्धा गर्नु नै विजय हुनु सरह भएको बताइन ।
खेल खेल्दै गर्दा आउने विवाद तथा समस्याहरुको आयोजक टिम, रेफ्री र खेलाडीहरु मिलेर समाधान गर्नु पर्ने उनको भनाइ रहेको छ ।
कार्यक्रमका सभाध्यक्ष बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले खेल निष्पक्ष तरिकाले खेलाउन र अनुशासित र लगनशील भै खेल खेल्न रेफ्री र खेलाडीलाई अनुरोध गरे । उनले खेल क्षेत्रमा नयाँ आयाम थप्न बागचौर नगरपालिका निरन्तर लागेको बताउँदै मनोरञ्जनमा मात्रै सिमित नरहि यस्ता किसिमका खेलबाट नगरपालिकाले राष्ट्रिय खेलाडी जन्माउने कुरामा समेत विश्वस्त भएको बताए ।
नगर प्रमुख गौतमले खेल खेल्दा फिल्डमा आउने हरेक किसिमका समस्याहरुमा सहजता ल्याउन बागचौर नगरपालिका लागि पर्ने जनाए ।
कार्यक्रमका बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अन्नत कुमार गौतम, १२ वटै वडाका वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
बागचौर नगरपालिका युवा, खेलकुद विकास समिति संयोजक एवम् १२ नं. वडाध्यक्ष टिकाराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर प्रमुखका प्रेस सल्लाहकार सन्जीव देवकोटाले गरेका थिए ।
बागचौर नगरपालिकाका १२ वटै वडाका खेलाडीहरु उपस्थित भएको विभिन्न खेलकुद प्रतियोगितात्मक कार्यक्रममा खेलहरु निष्पक्ष तरिकाले खेलाउँछौ भनी FIVB level coach (राष्ट्रिय रेफ्री) द्रोण प्रकाश चन्दले प्रतिबद्धता गरेका छन भने खेल निरन्तर ३ दिनसम्म चल्ने र समय अपुग भएमा खेलहरुलाई बाँकी नराखि समय थप गरि खेल सम्पन्न गराउने आयोजक समितिले जनाएको छ ।