बमबारुदका कर्कस ध्वनीले
गुन्जायमान तिम्रा कान
अबोध तोतेबोलीले लगाएको
चीत्कार किन सुन्थ्यो?
कुर्सी र पदको कुर्सी रेस
चलेको संसद भवनमा
आरक्षणको भागवण्डामा
लुछाचुंडी गरिरहेका तिम्रा
दिव्यदृष्टिले गिट्टीवालुवा र
ढुंगाको कोप्चामा मलाई लुछिरहेको
कारुणिक दृश्य तिम्रा दृष्टिले
किन देख्थ्यो?
बग्गी सवारी गर्ने तिम्रा पाउहरु
संसद भवनमा ए सी नचल्दा
सास फेर्न गाह्रो हुने तिम्रो फोक्सो
अनि तिम्रा महिला शशक्तिकरणका
भाषणहरु
सबै निकम्मा भए नेतृहरु
मेरो चित्कारले शितलनिवासको
निद्रा खलबल्याउनै सकेन।
चीत्कार सुन्नेहरु निर्जिव भए।
सिंहदरवार चिर नीद्रामा सुत्यो
टेबुल ठोक्नेहरु कुर्सीको प्रेममा
मन्त्रमुग्ध भए।
मेरो चीत्कार खोलाको कलकलामा
रुमलियो,बनका चरीहरुको कोलाहलमा
विलय भयो।हो म बिलाईएं आमा म बिलाएं।
आमा,बा
अब मेरो लास माथि नरोऊ
जाउ मेरो आवाज लिएर सिंहदरवार
जहाँ मजस्ता छोरीका बा आमा
निदाईरहेका छन् तिनलाई उठाउ।

प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार