साउन ५ काठमाडौं – जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित जनता टेलिभिजन एचडीले ९ महिनादेखि त्यहाँ कार्यरत कर्मचारीहरुलाई तलब नदिएपछि बुधबारबाट हड्ताल शुरु भएको छ ।

लामो समयदेखि आश्वासन मात्रै पाइरहेका कर्मचारीहरु चुल्हो निभिसकेपछि भने आन्दोलित भएका छन् । बुधबारबाट उनीहरुले नियमित प्रसारण हुने बुलेटिनमा कटौति गर्ने, रिपोर्टिङमा नजाने, शतप्रतिशत समाचार नपठाउने, अन्तर्वार्ता रोक्ने लगायतका निर्णय गरेका छन् ।
आन्दाेलन स्थलमा सम्बाेधन गर्दै श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले व्यवस्थापनले आजै सबैकाे पारिश्रमिक भुक्तानी नगरे विहिबारदेखि अझ कडाखालका कार्यक्रम लिएर आन्दाेलन चर्काउने चेतावनी दिए । आन्दाेलनस्थलबाटै व्यवस्था विजय पाैडेललाई फाेन गरि तत्काल हल गर्न जैसीले दबाब दिएका थिए । जवाफमा पाैडेलले हल गर्नका लागि रकम जुटाउन लागिरहेकाे बताएका थिए । तर यस्ता झुट्टा आश्वासन व्यवस्थापनबाट धेरै चाेटी आएकाे तर अहिलेसम्म हल नहुँदा बाध्यताबश आन्दाेलित हुनु परेकाे अध्यक्ष जैसीकाे भनाइ थियाे । यसअघि तलब नपाएपछि त्यहाँबाट धेरै कर्मचारी बिदा भइसकेका छन् ।

बाहिरिएका केही कर्मचारीले प्रेस काउन्सिल, सूचना विभाग, श्रमजीवी-पत्रकार संघ, नेपालमा मुद्धा दर्ता गराएका छन् । सर्वसाधारणहरुबाट शेयर उठाएर सञ्चालनमा आएको टेलिभिजनमा सामाग्री खरिदमा अनियमितता भएको हुनसक्ने, माथिल्लो तहका कर्मचारीहरुले बिना काम तलब, गाडी, इन्धन सुविधा लिएको भन्दै शेयर सदस्यहरु रुष्ट बनेका छन् । कम्पनी टाँट पल्टिने अवस्था आएको भन्दै शेयर सदस्यहरुले अनियमितता भएकोबारे छानबिन हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार