असार १४ सल्यान – शारदा नगरपालिकाले वडा नम्बर ९ का ३० जना किसानलाई बाख्रा वितरण गरेको छ ।
एक स्थानीय तह एक पशु वस्तु उत्पादन कार्यक्रम अन्तर्गत १०९ वटा खरि जातका बाख्रा, ४ वटा बोयर बोका, ६ वटा जमुनापारी जातका बोका प्रगतिशिल साना किसान कृषि सहकारी संस्थामा आवद्ध ३० जना किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ।
प्रदेश सरकार अन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान बाट १५ लाख शारदा नगरपालिकाबाट साढे ४ लाख र कृषकको ५ लाख ८५ हजार गरि कुल २६ लाख ३५ हजारका बाख्रा तथा कृषि सामाग्री हस्तान्तरण गरिएकाे नगर प्रमुख प्रकाश भण्डारीले बताए।
कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका प्रमुख भण्डारीले नगरवासीको जीवनशैली सुधार गर्न तथा व्यवसाय मुखी बन्न किसानलाई बाख्रा वितरण गरिएको तर धेरै ठाँउमा सरकारको अनुदानको सही सदुपयोग नभएकोले यसको लागि नगरपालिकाले अनुगमन समेत गर्ने बताएका छन।
त्यस्तैगरी पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कपिल प्रसाद शर्माले वडा नम्बर -९ बाख्रा पालकका लागि उपयुक्त भुगोल भएकाले यो कार्यक्रम लागु गरिएको बताए।
सहकारीका अध्यक्ष धर्म थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वडा नम्बर -९ का वडाध्यक्ष हेमेन्द्र कुमार बुढाथोकी, शारदा नगरपालिका पशु सेवा शाखा प्रमुख कुस्मा केसी लगायतको सहभागिता रहेको थियो ।