असार १२ दाङ – राप्ती गाउँपालिकामा आजदेखि तीन दिने आधारभूत सञ्चारसीप तथा पत्रकारिता तालिम शुरु भएको छ ।

राप्ती प्रेस मञ्चको आयोजना तथा राप्ती गाउँपालिकाको सहयोगमा सो तालिम शुरु भएको हो । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पाख्रेल र राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले गमलामा पानी हालेर उद्घाटन गरेका हुन।

कार्यक्रममा वडा नम्बर -४ का अध्यक्ष वीरबहादुर चौधरी, कार्यपालिका सदस्य चम्फा भुसाल, मञ्चका प्रमुख बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले बाेलेका थिए भने कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओम प्रकाश गुप्ताले गरेका थिए।

तीन दिनसम्म चल्ने तालिममा राप्ती गाउँपालिका भरिका माध्यामिक विद्यालयका विद्यार्थीहरु प्रशिक्षार्थीको रुपमा सहभागी छन् । तालिममा नरेन्द्र केसी, दशरथ घिमिरे, लिला शाह लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको मञ्चका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए।

एक विद्यालय, एक पत्रकार भन्ने नाराका साथ शुरु भएको तालिमबाट विद्यालयस्तरमा पत्रकार उत्पादन गर्ने लक्ष्य रहेको समेत अध्यक्ष अधिकारीले बताए।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार