असोज १५, सल्यान — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सल्यान प्रदेशसभा क्षेत्र नं. १ (क) को क्षेत्रीय सभापतिमा युवा नेता दिपेश डि.सी. विजयी भएका छन्।
सभापति पदका लागि भएको निर्वाचनमा डि.सी.ले ४३४ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी भरत गिरीलाई १३२ मतान्तरले पराजित गरेका हुन्। गिरीले ३०२ मत प्राप्त गरे।
नेपाल विद्यार्थी संघको सदस्य हुँदै राजनीतिक यात्रा सुरु गरेका डि.सी.ले नेपाली कांग्रेसको १२औँ महाधिवेशनबाट वडा कार्यसमिति सचिव, १३औँ महाधिवेशनबाट बागचौर नगर सचिव र १४औँ महाधिवेशनबाट बागचौर नगर सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्।
हाल निर्वाचित जनप्रतिनिधिका रूपमा बागचौर नगरपालिका–२ का वडाध्यक्ष तथा बागचौर नगरपालिकाका नगर प्रवक्तासमेत रहेका डि.सी. पार्टी संगठनसँगै सामाजिक तथा जनसेवाका गतिविधिमा सक्रिय रहँदै आएका छन्।
डि.सी.को विजयसँगै सल्यान प्रदेशसभा क्षेत्र नं. १ (क) मा युवा नेतृत्वले क्षेत्रीय संगठनको जिम्मेवारी पाएको छ। उनले विगतमा पार्टी संगठनमा प्राप्त गरेको अनुभवलाई क्षेत्रीय तहमा प्रयोग गर्दै कांग्रेसको संगठनलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।