दाङको लमही नगरपालिका–९ च्याउखोला नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दूध बोकेको ट्याङ्कर र कार एकआपसमा ठोक्किँदा ५ जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ क ५४९८ नम्बरको दूध ट्याङ्कर र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ९ च ४७९४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कार चालक दाङ शान्तिनगर गाउँपालिका–६ निवासी २५ वर्षीय दिपेश भण्डारीसहित कारमा सवार सुर्खेत गुर्भाकोट नगरपालिका–४ की २७ वर्षीया गीता विक, गुर्भाकोट–१ निवासी ६१ वर्षीय मादले विक, दाङ तुलसीपुर उपमहानगरपालिका–९ निवासी २५ वर्षीय कपिल केसी तथा बाँके कोहलपुर नगरपालिका–१० की ३२ वर्षीया कौसिला विक घाइते भएका छन्।
घाइते पाँचै जनालाई उपचारका लागि बाँकेतर्फ पठाइएको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
दुर्घटनामा संलग्न ट्याङ्कर चालक कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ निवासी ३४ वर्षीय शिवनारायण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।