असार ११,सल्यान- राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सल्यानका किसान भरतनाथ योगी पुरस्कृत भएका छन् । कृषि तथा पशुपंछी विकास मन्त्रालयद्धारा राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा सुन्तला खेती तर्फबाट योगीलाई पुरस्कृत गरिएको हो ।
योगी बागचौर नगरपालिका ८ मा व्यवसायिक सुन्तला खेती गर्दै आइरहेका छन । पुरस्कृत योगीलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ ।
तीन दशकअघिदेखि कृषि पेसामा संलग्न योगीले पुरस्कार पाउँदा ठुलो हौसला मिलेको बताएका छन । सम्भावनाको खोजी गर्ने क्रममा आफ्नो जन्मभूमिमा केही गर्न सकिन्छ कि भनेर २०५२ सालदेखि एक सय बोटबाट सुन्तला खेती सुरु गरेका योगीले हाल ९५० बोटको सुन्तला बगैँचा बनाएका छन ।
नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा स्वीकृत ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१’ अनुसार देशभरका ७ वटै प्रदेश मन्त्रालयबाट उत्कृष्ट कृषकको रूपमा छानिएका १४ जना कृषकहरूलाई सम्मान गरेको हो ।