बैशाख ३० रोल्पा – पछिल्लो समय स्थानीय तह निर्वाचनको प्रचारप्रसार देखि मौन अवधिकाे समयमा पनि राेल्पा श्रृङखलाबद्व रुपमा झडप भइरहेका छन।
बिहीबार बेलुका करिब ८ बजेतिर थबाङ गाउँपालिका -४ टिकरीबाङमा एमाले–कांग्रेस गठबन्धन र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप भएको छ। निर्वाचनको लागि मतदान केन्द्र व्यवस्थापन गरेर घर फर्कदै गरेका एमाले–कांग्रेसका कार्यक्रर्तालाई माओवादीका कार्यक्रर्ताले बाटोमा आक्रमण गरेपछि झडप सुरुभएकाे बुझिएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
घटनाकाे खबर पाएपछि ईलाका प्रहरी कार्यालय थबाङबाट प्रहरी निरीक्षक राजेश बस्नेतकाे कमान्डमा ८ जनाकाे प्रहरी टाेलि र ने.रा.मा.विकाे मतदान स्थलमा खटिएको प्रहरी टाेलीबाट प्रहरी सहायक निरीक्षक रामशरण चौधरीकाे कमान्डमा ४ जनाकाे टाेलि खटिएर घटनाको स्थलगत अनुगमन गरि अनुसन्धान सुरु गरिएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले जनसहारा संग बताए।
झडपमा परि एमालेका तीन जना घाइते भएका छन भने दुई जना बेपत्ता भएका छन। घाइते हुनेमा साेहि गाउँपालिका -४ गुराँसे बस्ने एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य २५ वर्षिय बिक्रान्त्त रोका गम्भीर घाइते भएका छन भने अन्य दुई जना घाइतेमा ३८ वर्षिय लिल बहादुर घर्ती र ३० वर्षिय राजेन्द्र घर्तीकाे अवस्था सामान्य रहेकाे र उनिहरुकाे जजजला अस्पताल थबाङमा उपचार भइरहेको छ। बेपता हुनेमा २५ वर्षिय रमन घर्ती र २५ वर्षिय बिस्तार घर्ती रहेका छन।
घटनामा संलग्न रहेकाे आराेपमा माओवादी केन्द्रका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। साेहि गाउँपालिका -४ तेलखाेला बस्ने ४१ वर्षिय साजन घर्ती र २९ वर्षिय बुद्धि राेका मगर रहेकाे प्रहरी निरीक्षक जिसीले बताए।
नियन्त्रणमा लिएका माथि गम्भीर भएर अनुसन्धान गरि कडा कारबाही गर्न निर्देशन दिएकाे प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए। जनसहारा संग प्रजिअ सापकोटा भन्छन्; निर्वाचनमा खटिएको सुरक्षा टाेली उतै छ तर थप अप्रिय घटना नहाेस भनेर थप सुरक्षा टाेली परिचालन गरेकाे छु।´