बैशाख २९ रुपन्देही – नेत्रहीन युवा संघ रुपन्देहीले अपाङ्गता भएका ब्यक्तिहरुको पहुँच युक्त निर्वाचन हुनु पर्ने भन्दै रुपन्देही जिल्लाका १६ स्थानिय तहमा निर्वाचन अधिकृत समक्ष ध्यानाकर्षण पत्र बुझाएकाे छ।

संघका अध्यक्ष टिकाराम पौडेल ,कोषाध्यक्ष कमला पौडेल ,निर्वाचन पहुँच युक्त कार्यक्रमका प्रमोटर टिकाराम घिमिरे,लक्ष्मी पाण्डे ,कर्मचारी अस्मिता क्षेत्री ,दृष्टि बिहिन शिक्षक किशोर आचार्य र गिता जोसि को सहभागिता रहेको थियो। संघले ध्यानाकर्षण पत्रमा स्थानीय तह निर्वाचन प्रक्रियालाई पहुचयुक्त बनाई अपांगता भएका व्यक्तिहरुको सहभागितामा वृद्धि गर्नका निम्ति सम्बन्धित निकाय र सरोकारवालाहरुसँग समन्वय सहकार्य गर्न १४ बुदे ध्यानाकर्षण पत्र बुझाएको संघका अध्यक्ष पौडेलले बताए।

१. स्थानीय निर्वाचन ऐनको दफा ३६ -१ (घ) , प्रदेशसभा सदस्य निर्वाचन ऐनको दफा ४१ -१(छ) र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा ४१ -१ (छ)ले अपांगता भएका मतदाताहरुका लागि सहयोगीका रुपमा एकाघरका परिवारका सदस्य एवं मतदान अधिकृतलाई सिमित गरेको हुदा उक्त प्रावधानलाई संशोधन गरि अपांगता भएका व्यक्तिहरुले इच्छाएको व्यक्तिद्धारा मतदान गर्न सक्ने व्यवस्था गर्नुपर्ने ।

२. मतदान केन्द्रमा व्हिलचियर प्रयोगकर्तालाई सजिलैसँग मतदान गर्न व्हिलचियर गुडाउन पर्याप्त ठाउँ बनाईनु पर्ने । न्यूनदृष्टियुक्त व्यक्तिहरुका लागि मतदान केन्द्रमा पर्याप्त उज्यालो हुनुपर्ने र मतपत्रमा रहेका चिन्हहरु प्रष्टरुपमा देखिन म्याग्निफाईङ्ग ग्लासको व्यवस्था हुनुपर्ने । दृष्टिविहीन व्यक्तिहरुका लागि छामेर मतपेटीकामा मतपत्र खसाल्नका लागि मतपेटीमा ट्याक्टाईल स्टिकर टाँस्नुपर्ने र व्रेललिपी र ठूलो छापामा मतपत्र निर्देशिका निर्माण गर्नुपर्ने । हात सम्बन्धि शारिरीक अपांगता भएका मतदाताका लागि मतपत्र लिदा हस्ताक्षर गर्न समात्न सजिलो हुने ठूलो कलमको व्यवस्था गर्नुपर्ने । सुनाई सम्बन्धी अपांगता भएका मतदाताका लागि मतदान केन्द्रमा सांकेतिक भाषाका दोभाषेहरु उपलब्ध गराईनुपर्ने ।

३.मतदान निर्देशिकामा अपांगता सम्बन्धि विषय समावेश गरी मतदान गराउने कार्यमा खटिने कर्मचारीका लागि अपांगता भएका मतदातासँग गर्नुपर्ने व्यवहारबारे तालिमको व्यवस्था अनिवार्य गराईनुपर्ने ।

४.मतदानको दिन अपांगता भएका व्यक्तिहरुलाई मतदान केन्द्र सम्म पुर्याउन निर्वाचन आयोगले घरबाट मतदान केन्द्र र मतदान केन्द्रबाट घर सम्म ल्याउने र पुर्याउने व्यवस्था गर्नुपर्ने ।

५.निर्वाचनलाई पहँचयुक्त बनाउन निर्वाचन आयोगले सबै निर्वाचन साझेदारलगायत नागरिक समाज, अपांगता भएका व्यक्तिहरु सम्बद्ध संघसंस्थाहरु, अपांगता अधिकारकर्मीहरु, सुरक्षाकर्मीहरुलाई जनचेतना अभिवृद्धि, र सहकार्यका माध्यमबाट अभिमुखीकरण गर्नुपर्ने ।

६.निर्वाचन पर्यवेक्षकका रुपमा अपांगता भएका व्यक्तिहरुलाई सहभागी गराउन निर्वाचन पर्यवेक्षक निर्देशिकामा संशोधन गर्नुपर्ने । पर्यवेक्षण फाराममा निर्वाचन पहँुचयुक्त रह्यो रहेन भन्ने विषय सम्बन्धि प्रश्नहरु समावेश गरिनुपर्ने ।

७. आचार संहिता निर्माणका क्रममा अपांगता भएका व्यक्तिहरु र संस्थालाई सहभागी गराउनुपर्ने।

८. मतदाता शिक्षा गतिविधिमा अपांगता भएका व्यक्तिलाई सहभागी गराईनुपर्ने ।

९.सञ्चार माध्यमलाई पहँुचयुक्त तरिकाले सुचना प्रसार गर्न प्रशिक्षित गर्नुपर्ने ।

१०.पहुचयुक्त सुचना प्रणालीबाट निर्वाचन परिणाम घोषणा गरिनुपर्ने । यसका लागि निर्वाचन परिणाम घोषणाको सांकेतिक भाषा र क्याप्सन सहितको छोटो छोटो भिडियो नियमतिरुपमा टिभिबाट प्रशारण गर्नुपर्ने । मतगणना स्थलमा सांकेतिक भाषाका दोभाषेहरुको व्यवस्था गर्नुपर्ने ।

११. अपांगता भएका व्यक्तिहरुलाई ईच्छाईका स्थानबाट मतदान गर्ने व्यवस्था मिलाईनुपर्ने ।

१२. निर्वाचन आयोग र निर्वाचन कार्यालयका वेबसाइटहरु पहुचयुक्त बनाईनुपर्ने ।

१३. निर्वाचनमा सहभागि अपांगता भएका मतदाताको लगत राख्ने व्यवस्था मिलाईनुपर्ने ।

१४. अपांगता भएका व्यक्तिलाई मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदानस्थलमा नङमा मसि लगाउने कर्मचारी, मतदाता नामावली प्रमाणीकरण कर्मचारी, स्वयमसेवक, पर्यवेक्षक र अरु निर्वाचनसँग सम्बन्धित कर्मचारीहरु खटाउँदा अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिने व्यवस्था मिलाउनुपर्ने ।

प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार